मिडियाबाजी डटकम काठमाडौं,भाद्र १९।बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ वर्षपछि भारतले अर्थतन्त्रको आकारमा बेलायतलाई उछिनेको छ।टाइम्स अफ इन्डियाका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को तथ्यांकमा भारत अब विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनेको छ।
अहिले भारतको अनुमानित कूल ग्राहस्थ उत्पादन (जिडिपी) ३ हजार ८ सय ९४ अर्ब डलर रहेको छ भने बेलायतको जिडिपी ३ हजार ६ सय ८७ अर्ब डलर छ।एक दशकअघिसम्म विश्वका ठूला अर्थतन्त्रको सूचीमा बेलायत पाँचौ नम्बरमा थियो भने भारत ११ औं स्थानमा पर्थ्यो।कोरोनाभाइरसको महामारी कारण ठूला अर्थतन्त्रको वृद्धिदर धिमा गतिमा भइरहेका बेला भारतको अर्थतन्त्र पछिल्लो चौमासिकमा १३.५ प्रतिशतले बढेको छ।
अहिले विश्वको कूल जिडिपीमा भारतको हिस्सा ३.५ प्रतिशत छ। पहिलो स्थानमा रहेको अमेरिकाको २४.१, चीनको १९.८०, जापानको ४.८ र जर्मनीको ४.१ प्रतिशत हिस्सा छ।आइएमएफको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा भारतीय अर्थतन्त्र ७ प्रतिशतभन्दा बढीले वृद्धि हुनेछ। कोरोना महामारी र रूस-युक्रेन युद्धका कारण संसारका अरू कुनै पनि ठूला अर्थतन्त्रले यति उच्च वृद्धिदर हासिल गर्ने देखिँदैन। भारतीय अर्थतन्त्रले अबको पाँच वर्षमा (सन् २०२७ सम्म) चौथौं स्थानमा रहेको जर्मनीलाई उछिन्ने प्रक्षेपण गरिएको छ।
सन् २०२९ सम्म जापानलाई पनि उछिनेर अमेरिका र चीनपछि भारत संसारको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने सम्भावना छ।अर्थतन्त्रको आकारमा उछिने पनि भारतको प्रतिव्यक्ति आय भने बेलायतको भन्दा निकै तल छ। अहिले भारतीयको प्रतिव्यक्ति आय २ हजार ५ सय डलर छ भने बेलायतीको प्रतिव्यक्ति आय ४७ हजार डलर छ।बेलायतले भारतलाई सन् १८५८ देखि १९४७ सम्म आफ्नो उपनिवेश बनाएको थियो।