डियाबाजी डटकम काठमाडौं, श्रावण १९। काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) मा एकैपटक बढुवा भएका बाबु–छोराले बिहीबार दर्ज्यानी चिह्न (फुली) लगाएका छन् ।प्रहरी निरीक्षकबाट डीएसपीमा बढुवा भएका ६३ जनाले बिहीबार दर्ज्यानी चिह्न लगाएका हुन् ।
तीमध्ये दुईजना राजेन्द्र अधिकारी र उनका छोरा ध्रुव अधिकारी छन् । राजेन्द्र जनपदतर्फ र छोरा प्राविधिकतर्फबाट डीएसपीमा बढुवा भएका हुन् । उनीहरूसहित बढुवा भएका डीएसपीलाई बुधबार आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिह्न लगाइदिएका छन् ।राजेन्द्रले २०५१ सालमा प्रहरी सहायक निरीक्षक (असई) नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए भने ध्रुव चाहिँ २०७५ सालमा प्राविधिकतर्फ इञ्जिनियर इन्सपेक्टरमा भर्ना भएका हुन् ।
ध्रुवका बुबा राजन २०५७ सालमा सई र २०६७ सालमा इन्सपेक्टरमा बढुवा भएका थिए । बुबाभन्दा २४ वर्षपछि प्रहरीमा भर्ना भए पनि प्राविधिकतर्फ सिट खाली भएकाले ध्रुवलाई बुबासँगै डीएसपीमा बढुवा हुने संयोग मिलेको हो । समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई आ-आफ्नो योग्यता अनुसारको विशिष्टिकृत विधाहरूमा उत्कृष्ट काम गर्न समेत निर्देशन दिएका छन् ।