मिडियाबाजी डटकम काठमाडौं,श्रावण १८ । रुपन्देहीमा बैबाहिक बलात्कार विरुद्धको मुद्धा दर्ता भएको छ । तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै पति विरुद्ध लामो समय देखी जबर्जस्ती करणी गरेको भन्दै बैबाहिक बलात्कारको मुद्धा दर्ता गराएकी हुन् ।
तिलोत्तमा नगरपालिका- १७ ,निवासी उक्त पुरुष विरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा पुगेर पीडित महिलाले गत मंगलबर आफ्नै पतिले बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी हुन्। डीएसपी ठगबहादुर केसीका अनुसार चौधरी थरकी ती महिलाले ६ महिनादेखि मादक पदार्थ तथा लागूपदार्थ खाएर कुटपिट गर्नाका साथै आफू बिरामी हुँदा पनि श्रीमानले इच्छाविपरीत जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन्।
अत्याचारबारे परिवारजन र आफन्तलाई जानकारी गराउँदा पनि वेवास्ता गरेपछि प्रहरीसमक्ष उजुरी गर्न आएको महिलाले बताएकी छिन् । उजुरी लगत्तै सो बारेमा अनुसन्धान जारी राखिएको प्रहरीको भनाइ छ । आफ्नै पत्नीलाई समेत इच्छाविपरीत जबर्जस्ती करणी गरे ५ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ।