मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १६।कैलालीका किसान आज भोलि धानबाली भित्र्याइरहेका छन् । धेरै किसान भित्र्याउने काम सकेर आफूलाई आवश्यक धान खाद्यान्नका लागि भण्डारण गर्ने र बाँकी बेच्न थालेका छन् । तर यस वर्ष धानको बिक्री समर्थन मूल्य निर्धारण नहुँदा सस्तोमा धान बेच्न किसान बाध्य छन् ।
सरकारले धान सस्तो मूल्यमा बेचेर सकिने बेला समर्थन मूल्य निर्धारण गर्ने भएकाले धान उत्पादनको लागत मूल्यभन्दा सस्तोमा धान बेच्नुपरेको किसानको गुनासो छ । सरकारले अहिलेसम्म कुनै जानकारीसमेत नगराएको र मन्त्रिपरिषद्को निर्णयले धानको समर्थन मूल्य निर्धारण गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयमा परिपत्रपछि कार्यान्वयन हुने गर्दछ । तर अहिलेसम्म कुनै जानकारी नभएको नेपाल खाद्य संस्थान सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका प्रमुख एन्जिला बस्नेतले बताइन्।“मूल्य निर्धारण गरिएको छैन, निर्धारण भएपछि हामीले धान खरिद डिपो लगाउने गर्दछौँ”, उनले भनिन्, “अहिले व्यापारीले आ–आफ्नै तरिकाले धान खरिद गरिरहनुभएको छ ।”
गत वर्ष टीकापुरमा कात्तिक १८ गतेदेखि खाद्य व्यवस्था तथा कम्पनीले मोटा धान प्रतिक्विन्टल रु दुई हजार सात सय ३५ र मध्यम धान रु दुई हजार आठ सय ८५ मा खरिद सुरु गरेको थियो ।