इन्डोनेसियाको खेल मैदानमा भएको भागदौडमा ज्यान गुमाउनेको सङ्ख्या एक सय ७४ जना पुग्यो

  असोज १६, २०७९

मिडियाबाजी डटकम, इन्डोनेसियाको एउटा फुटबल खेल मैदानमा भएको भागदौडमा ज्यान गुमाउनेको सङ्ख्या एक सय ७४ जना पुगेको छ । हुलदङ्गा मच्चाइरहेका फुटबल समर्थकहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि भएको भागदौडमा कम्तीमा एक सय ७४ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । 

ज्यान गुमाउनेमध्ये दुई जना प्रहरी अधिकारी पनि रहेका छन् । पूर्वी जाभा प्रान्तमा भएको खेलमा दुई टोलीका समर्थकहरू मैदानमा प्रवेश गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि भागदौड मच्चिँदा मानिसहरू निसासिन पुगेका पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्टालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । एउटै बाटोबाट मानिसहरू बाहिरिँदा अक्सिजन अभाव भएको प्रहरीको भनाइ छ । 

४० हजार मानिस अटाउने रङ्गशालामा क्षमताभन्दा बढी मानिसहरू रहेका इन्डोनेसिया प्रहरीले जनाएको छ । एकै पटक झन्डै तीन हजार जना मानिसले अराजक व्यवहार देखाएपछि बल प्रयोग गर्नुपरेको प्रहरीको दाबी छ । इन्डोनेसियाको फुटबल सङ्घले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । इन्डोनेसियामा यसअघि पनि फुटबल खेलको समयमा विभिन्न क्लबका समर्थकहरूबीच हिंस्रक टकराव देखा परेकाे थियाे । 

तपाईंको प्रतिक्रिया

थप खबर