मिडियाबाजी डटकम काठमाडौं ,भाद्र १६। पार्किङ उपयोगका लागि बनाइएका भवनहरूको बेसमेन्ट (अन्डरग्राउन्ड) खाली गराउने अभियान पश्चात काठमाडौं महानगरपालिकाले होडिङ बोर्डहरू हटाउने अभियान सुरु गरेको छ ।
महानगरले आज त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड बन्द गराएको छ । उक्त डिजिटल होर्डिङ बोर्ड नियम विपरीत भएको भन्दै महानगरले हटाउन भनेको छ । पटक पटक आग्रह गर्दा पनि सेन्टरले बन्द नगरेपछि बिहीबार महानगरपालिकाको टोलीले गएर बोर्ड बन्द गराएको हो ।
केहीबेर अघि महानगरपालिकाले उक्त बोर्ड बन्द गराउनका लागि नगर प्रहरी त्यहाँ पुगेका हुन् । उनीहरुलाई मेयर बालेन्द्र शाहले निर्देशन दिएको उनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए ।नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली ट्रेड सेन्टर गएका छन् । स्वीकृत मापदण्डमा ८ सय स्क्वायर फिटमा मात्रै डिजिटल होडिङ बोर्ड राख्न पाइने नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
उनका अनुसार उक्त बोर्डले १६ सय स्क्वायर फिटभन्दा बढी क्षेत्रफल ओगटेको छ । यस्तै होडिङ बोर्डले भवनको झ्याल समेत छेकेको उनले बताए । मुख्य सडकको भवनमा ठूलो डिजिटल बोर्डले सवारी चालकको ध्यान भंग गर्ने हुँदा दुर्घटनाको जोखिम समेत हुने गरेको थियो ।