मिडियाबाजी डटकम काठमाडौं,भाद्र १६। द एकेडेमी अफ मोसन पिक्चर एण्ड साइन्सेजले ९५ औं ओस्कर अवार्डका लागि आवेदन खुलाएको छ। नेपालस्थित ओस्करको अन्तर्राष्ट्रिय फिचर फिल्म छनौट समितिले सूचना जारी गर्दै भदौ ३० गतेभित्र फिल्म बुझाउन आग्रह गरेको हो ।
नेपालबाट सिफारिस हुने फिल्मले अन्तर्राष्ट्रिय फिचर विधामा प्रतिस्पर्धाको मौका पाउनेछ । कोरोना महामारीको कारण हलमा फिल्म रिलिज हुन नसक्दा गतवर्ष नेपालबाट कुनै फिल्म सिफारिस भएका थिएनन् । तर, यसपटक सिफारिसको प्रतिस्पर्धामा कम्तीमा ६ भन्दा बढी फिल्मले भाग लिने अनुमान गरिएको छ ।
सन् २०२२, जनवरी १ देखि नोभेम्बर ३० सम्म हलमा एकसाता चलेका फिल्मले मात्र भाग लिन पाउनेछन् । अक्टोबर ३ भित्रै नेपालले एक फिल्मलाई ओस्करमा सिफारिस गरिसक्नुपर्ने प्रावधान रहेको छ ।