दसैंका लागि यसवर्ष च्याङ्ग्रा बिक्री वितरण नहुने

  असोज १३, २०७८

असोज १३ काठमाडौं / खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि दसैंका लागि च्याङ्ग्रा बिक्री वितरण नगर्ने भएको छ । दसैंका लागि च्याङ्ग्राको बिक्री वितरण गर्ने तयारी गरेको कम्पनीले अभावका कारण बिक्री नगर्ने जनाएको हो ।

बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दसैंमा खसी बोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको भएतापनि यसवर्ष खसी/बोका मात्र बिक्री हुने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन ।

उनका अनुसार बजार मूल्य नियन्त्रण गर्ने निकायले नै बढी मूल्यमा बिक्री वितरण गर्नुभन्दा नल्याउने निर्णय भएको हो । ‘एक हजार च्याङ्ग्रा ल्याउने निर्णय अनुसार हामीले तयारी थालेका थियौँ, कोरोना सङ्क्रमणका कारण यस वर्ष तिब्बत्बाट च्याङ्ग्रा नआउँदा मुस्ताङमा धेरै महँगो भएर ल्याइएन’, उनले भनिन । कम्पनीले गत वर्षको दसैँमा पनि च्याङ्ग्राको मूल्य बढेको भन्दै बिक्री वितरण गरेको थिएन ।

मुस्ताङबाट च्याङ्ग्रा नआए पनि दाङ र मकवानपुरको पहिलो लटमा एक हजार ७०० खसी तथा बोका ल्याउने तयारी पूरा भएको जनाएको छ । सूचना अधिकारी न्यौपानेले दाङ बाट एक हजार र मकवानपुरको ७०० खसी तथा बोका ल्याउने तयारी भएको जनाउँदै आवश्यकता अनुसार थप खरिद गर्ने जानकारी दिइन । दुई जिल्लाबाट ल्याइएको खसी तथा बोका कम्पनीले थापाथली स्थित प्रादेशिक कार्यालय परिसरबाट फूलपातीको दिनबाट बिक्री सुरु गर्ने जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर