राजनिशास्त्रमा विशेषतः देश (country), राज्य (state) र राष्ट्र (nation) शब्दको अर्थ र परिभाषालाई बुझ्न पर्छ । देश भनेको भूगोल र जनसंख्याको समग्रता हो । जस्तो नेपाल भनेको के हो ? मेचीदेखि कालीसम्म, उत्तरमा हिमालदेखि दक्षिणमा १० गजासम्म फैलिएको करिब ३ करोड जनसंख्या भएको एक राजनीतिक एकाई नै नेपाल भन्ने देश हो ।
देश कसरी बन्छ ?
कुनै देशको जति सीमा र जनसंख्या हुन्छ, के त्यति नै उसको प्राकृतिक सीमा र जनसंख्या हो ? बिल्कुल हैन । जस्तै मेची र काली नै नेपालको सीमा किन मान्नु पर्ने ? जबकी कुनै बेला नेपाल टिष्टा र काँगडाको बीचमा थियो । दक्षिणमा गंगाको तटसम्म थियो । यही प्रश्नलाई अर्को तरिकाले पनि भन्न सकिन्छ । अहिलेको मेची र कालीभन्दा कम सीमा भएको पनि त कुनै नेपाल थियो । नेपाल भनेको मूलतः काठमाडौं भ्यालीबाट शासित राज्यको थियो । त्यसको सीमा इतिहासमा बारम्बार कहिले धेरै, कहिले थोरै भएको छ ।
त्यो शक्ति र युद्धको क्षमतामा आधारित छ । अर्थात् देशको सीमा युद्धको शक्ति र तत्परताले निर्धारण गर्दछ । संसारमा आज जति पनि देश छन्, ती सबैका सीमा, युद्ध, आन्दोलन, सम्झौता र स्वीकार्यताबाट तय भएका हुन्, कुनै पनि प्राकृतिक हैनन् । नेपालको अहिलेको सीमा पनि नेपाल-अंग्रेज युद्ध र सुगौली सन्धिले निर्धारण गरेको हो ।
यदि नेपालसँग युद्धको क्षमता र तत्परता हुने हो भने अहिलेकै सीमा मान्नु पर्दछ भन्ने छैन । कतिपयले अहिले पनि ग्रेटर नेपालको कुरा गरिरहेकै छन् । जब युद्ध र सम्झौताबाट कुनै देश सृजना हुन्छ, त्यस भौगोलिक क्षेत्रफभित्रका बासिन्दाहरु स्वतः त्यसको जनसंख्या बन्छ ।
यो नियमका केही अपवादहरु पनि छन् । जस्तो कि भारत र पाकिस्तान टुक्रिएको बेला सम्झौताले तय गरेको सीमाभित्रको बासिन्दालाई नै जनसंख्या मानिएको थिएन । मानिसलाई इच्छाले एकअर्को क्षेत्रमा सीमा जान पनि सुविधा दिइएको थियो । कराँची र लाहुरबाट कयौं मानिस दिल्ली आएका थिए र भारतको नागरिक भएका थिए । पञ्जाब र दिल्लीबाट कयौं मानिस पाकिस्तान गएका थिए ।
राज्य भनेको चाहिँ देश चलाउन बनाइएको मानवीय संगठन वा संस्था हो । मूलतः यसभित्र कार्यकारी, विधायकी र न्यायिक अंगहरु पर्दछन् । अर्थात् राजनीतिक दल, संसद, सेना, प्रहरी, कर्मचारीतन्त्र, अदालत, संघीय, प्रादेशिक र स्थानीय सरकार राज्यका अंग हुन् । अहिले त मिडिया, निजी क्षेत्रका संघसंस्था, सामाजिक संघसंस्था र नागरिक समाजलाई पनि राज्यकै अंग मानिन्छ । यदाकदा मान्छेलाई भ्रम हुन्छ कि राज्य यस्ता संगठनहरुको समग्रतालाई भनिएको हो वा प्रदेशलाई भनिएको हो । कतिपय देशमा प्रदेशलाई राज्य भन्ने चलन छ , जस्तो अमेरिकामा ५० वटा राज्य छ भनिन्छ । प्रदेश पनि राज्य हो, राज्यको अंश हो, तर प्रदेश भनेकै राज्य चाहिँ हैन । नेपालमा संघीयताका एकाइलाई राज्यभन्दा प्रदेश भन्नु नै बढी उचित हुन्छ ।
राष्ट्र भनेको चाहिँ देश र राज्यभन्दा बिल्कुल फरक कुरा हो । लामो संघर्ष र सम्मिलनको प्रक्रियाबाट नश्ल, भाषा, धर्म, संस्कृति र मनोविज्ञानको समरुपता हासिल भएको मानव समुदायलाई राष्ट्र र उनको विशेषता जनाउने शब्दलाई राष्ट्रियता भनिन्छ । जस्तो युके एक देश हो । यसभित्र मुख्य ४ वटा राष्ट्रियता छन्- वेल्स, स्कटिस, आइरिस र इंग्लो । यी ४ राष्ट्रियताहरु मिलेर युके देश बनेको छ ।
संसारका सबै राष्ट्रियताहरुमा बराबर विशेषता हुँदैन । कुनै तत्व धेरै वा थोर हुन् सक्दछ । जस्तो कि भारतमा पञ्जाबीहरुको भाषा, धर्म र नश्ल फरक छ । तर तमिलहरुको भने भाषा र नश्ल मात्र फरक छ, धर्म फरक छैन, हिन्दू नै छन् । जबकी पञ्जाबीहरुको आफ्नो भिन्दै धर्म शिख छ ।
सबै राष्ट्रियताहरु कुनै एउटा देशको सीमाभित्र अटाएका हुँदैनन् । जस्तो कि पञ्जाबीहरु भारत र पाकिस्तान दुईतिर बाँडिएका छन् । बंगाली भाषीहरु बंगलादेश र पश्चिम बंगालमा बाँडिएका छन् । तमिलहरु तमिलनाडु र श्रीलंकाको जाफ्नामा बाँडिएका छन् । नेपाली भाषीहरु नेपाल र भारतमा बाँडिएका छन् । मैथिल भाषीहरु नेपाल र बिहारमा बाँडिएका छन्, आदि ।
त्यो भए के गर्ने त ? हरेक राष्ट्रियताहरुको एकएक फरकफरक देश बनाउन सम्भव छ, ? छैन । हरेक राष्ट्रियताहरुको फरकफरक प्रदेश बनाउन सम्भव छ ? त्यो पनि छैन ।
त्यसो भए बहुराष्ट्रियता कस्तो अवधारणा हो त ?
बहुराष्ट्रियता संघवाद वा बहुसांस्कृतिकतावादकै राजनीतिक अभिव्यक्ति हो । त्यसले एउटै देश वा राजनीतिक एकाईभित्र ऐतिहासिक परिबन्द (युद्ध, आन्दोलन र सम्झौता) का कारण समेटिन पुगेका फरकफरक तर समरुप मानव समुदायहरुको अस्तित्व, पहिचान, मान्यतालाई आत्मसात गर्दछ । अर्थात् एउटै देशभित्र धेरैवटा राष्ट्रिय समुदायहरु उत्तिकै सम्मानपूर्ण अस्तित्व, पहिचान र मान्यताको अवस्थामा हुन् सक्दछन् । उनीहरुको जाति, भाषा, धर्म, संस्कृति, इतिहास र मनोविज्ञानलाई राज्यले बराबरीको स्थान, पहिचान र मान्यता दिनुपर्दछ । सम्मान, संरक्षण र विकास गर्ने अवसर दिनुपर्दछ भन्ने मान्यता नै बहुराष्ट्रियता हो ।
एकल राष्ट्रियताको अवधारणाले भने त्यस्ता फरकफरक समरुप मानव समुदायलाई प्रत्यक्ष, अप्रत्यक्ष घोलाघाल पार्दै एकै प्रकारको प्रवाहमा हिँडाउने प्रयास गर्दछ । तर बहुराष्ट्रियताको अवधारणाले विविधता र भिन्नपनको सम्मान गर्दै सबैमा साझा देशभक्तिको भावना सृजना गर्दछ । संरचनामा यो भावना संघवादको अभिव्यक्त हुन्छ ।
तर विखण्डन भनेको चाहिँ हरेक राष्ट्रियताको भिन्नै देश र राज्य हुनु पर्दछ भन्ने धारणा हो जबकी बहुराष्ट्रियतावादले एउटै देशभित्र धेरै राष्ट्रियताहरु समेट्न सकिन्छ भन्ने ठान्दछ । यस मानेमा विखण्डनवाद र बहुराष्ट्रियतावाद विपरित अवधारणा हो । तर बहुराष्ट्रियतावाद एकल राष्ट्रियतावाद भन्दा पनि फरक अवधारणा हो । किनकी त्यसले कुनै देश र राज्य निर्माणमा मानव विविधताहरुको अन्त्य हुनु पर्दछ, सबैलाई राज्यले एकैप्रकारको बनाउनु पर्दछ भन्ने पनि ठान्दैन ।
एकल राष्ट्रवादको अभ्यास राष्ट्रवाद हुँदै फासीवादतिर उद्यत हुन्छ जबकी बहुराष्ट्रियतावादले बहुसांस्कृतिकतावाद, देशभक्ति र संघवादको पैरवी गर्दछ । जसपाबारे आएका प्रतिक्रियाहरुलाई यही परिप्रेक्ष्यबाट हेर्नु उचित हुन्छ ।
– Bishadeep Pandey
“बहुराष्ट्रिय राज्य” भनेको के हो ?
महावीर विश्वकर्माले प्रष्ट पार्नुभएको छ पढ्नुस् है त।
यहाँ धेरैलाई भ्रम छ, ”राष्ट्र (Nation) र देश (Country) भनेको एउटै हो” भन्ने भ्रम । सत्तारुढ नेकपाको भातृ संगठन युवा संघले निर्वाचन आयोगमा जनता समाजवादी पार्टी विरुद्ध उजुरी नै दर्ता गराएछ-”नयाँ दलको उद्देश्य नेपालमा बहु राष्ट्रिय राज्य कायम गर्ने भनी उल्लेख गरिएको छ । छुट्टै देश अर्थ झल्कने गरी दल दर्ता गर्न प्रस्ताव गरिएकाले …… दल दर्ता प्रक्रिया रोकी पाउँ” भनेर ।
राष्ट्रको अर्थ फरक हो । राष्ट्र भनेको त्यो मानव समूह हो, जुन समूहसँग आधारभूत रुपमा ५ मौलिक अवस्थाहरु हुन्छन् –
मौलिक भाषा
मौलिक संस्कृति
मौलिक मनोविज्ञान
खास भूगोल
मौलिक आर्थिक सम्बद्धता
जस अनुसार नेपालमा आर्य-खस एउटा राष्ट्र हो, मिथिला एउटा राष्ट्र हो, नेवार, लिम्बू, अवध, भोजपुरा आदि फरक-फरक राष्ट्रहरु हुन् । राष्ट्रलाई जाति (Nation) पनि भनिन्छ ।
सो पार्टीले प्रयोग गरेको ‘बहुराष्ट्रिय राज्य’ भनेको पनि ”त्यस्ता बहु (धेरै) राष्ट्रहरु मिलेर बनेको राज्य” भनेको हो ।
– महावीर विश्वकर्मा
राष्ट्र’ (Nation) र राज्य (State) वा देश (Country) न्योन्याश्रति, तर फरक-फरक कुरा हुन् ।
‘राष्ट्र’ (Nation) र राज्य (State) वा देश (Country ) न्योन्याश्रति, तर फरक-फरक कुरा हुन् । अंग्रेजी शब्द राष्ट्र (Nation) को व्युत्पत्ति ल्याटिन भाषाको (Natio) शब्दबाट भएको हो । Natio को अर्थ ‘जन्मको आधारमा’ वा ‘कुन जराबाट पलाएको हो’ भन्ने हुन्छ । विभिन्न शब्दकोशले यसरी अर्थ्याउँछन् : ‘कुनै जनसमुदायले भूमिसँगको पुर्ख्यौली सम्बन्ध, भाषा, इतिहास, सांस्कृतिक जीवन-दर्शन आदिका आधारमा अन्य समूहभन्दा आफ्नो समूहलाई फरक मान्छन् भने त्यो समुदाय एउटा राष्ट्र हो ।’
त्यसैगरी ‘राज्य’ वा ‘देश’ शब्दको व्युत्पति ‘राष्ट्र’को जति पुरानो छैन र होइन पनि । ‘राज्य’को अर्थ र सान्दर्भिकता एउटा निश्चित भौगोलिक चौघेरोभित्र प्रशासनिक, राजनीतिक व्यवस्थापन, सैन्य-सामरिक सुरक्षा, नागरिकको बालिग मताधिकार आदिको व्यवस्थापनसँग जोडिएको हुन्छ । ‘राज्य’ले राजनीतिक, नागरिक, भू-राजनीतिक, प्रशासनिक अर्थको सार ग्रहण गरेको हुन्छ । र, ‘राष्ट्र’मा भाषिक, धार्मिक, जातीय पुर्ख्यौली परम्परा तथा समुदायको इतिहासको सांस्कृतिक सार समाहित हुन्छ । यसरी राज्य वा देश भनेको ‘राष्ट्र’ होइन र राष्ट्र मात्र भन्नाले पनि राज्य बुझिदैंन ।
– कुशल घिमिरे
(१९ बैशाख २०७७ मा नयाँ बुलन्द अनलाईनमा प्रकाशित।)