राष्ट्रवाद र राष्ट्रघात प्रयोग

  जेठ २२, २०७८

युरोपियन मस्नरिज बाइबल बोकेर अफ्रिका छिरे । अफ्रिकीलाई बाइबल थमाए । भने, ‘आँखा चिम्लेर प्रार्थना गर, ईश्वरले कल्याण गर्नेछन् ।’ आँखा खोल्दा उनीहरूको हातमा बाइबल थियो, देश थिएन । साक्षी छन् डेजमन्ड एमपिलो टुटु । धार्मिक उवनिवेशबाट सुरु भयो अफ्रिकाको अधिग्रहण । राष्ट्रवादको अज्ञानताको सिकार भए सोझा अफ्रिकीहरू । देश गुम्यो, दास बने । गिरमिटियाहरू भारतबाट फिजी पुगे । कामदारबाट नागरिकको हैसियत बनाउन थाले । अंग्रेज उपनिवेशवाद दीक्षित भारतले उस्तैउस्तै फर्मुला लगायो । सत्तामा बसेका केही फिजियनले राष्ट्रवाद भुले । आन्तरिक उवनिवेशको सिकार भयो फिजी ।

शिव प्रकाश
युरोपियन मस्नरिज बाइबल बोकेर अफ्रिका छिरे । अफ्रिकीलाई बाइबल थमाए । भने, ‘आँखा चिम्लेर प्रार्थना गर, ईश्वरले कल्याण गर्नेछन् ।’ आँखा खोल्दा उनीहरूको हातमा बाइबल थियो, देश थिएन । साक्षी छन् डेजमन्ड एमपिलो टुटु । धार्मिक उवनिवेशबाट सुरु भयो अफ्रिकाको अधिग्रहण । राष्ट्रवादको अज्ञानताको सिकार भए सोझा अफ्रिकीहरू । देश गुम्यो, दास बने ।

गिरमिटियाहरू भारतबाट फिजी पुगे । कामदारबाट नागरिकको हैसियत बनाउन थाले । अंग्रेज उपनिवेशवाद दीक्षित भारतले उस्तैउस्तै फर्मुला लगायो । सत्तामा बसेका केही फिजियनले राष्ट्रवाद भुले । आन्तरिक उवनिवेशको सिकार भयो फिजी ।

फियनहरू चाकर भए, आप्रवासी (अंगीकृत) भारतीय गिरमिटिया मालिक भए । गुमेपछि थाहा भयो फिजियहरूलाई, के गुमायौं ? आधुनिक र आन्तरिक उपनिवेशवादको बलियो उदाहरण हो, फिजीकरण ।

राष्ट्रघातसँग जोडिने बलियो नाउँ हो, तत्कालीन सिक्किमे प्रधानमन्त्री लेन्डुप दोर्जे । जनप्रतिनिधिले छिमेकीलाई खुसीखुसी सुम्पेको देश हो, सिक्किम । एउटा सार्वभौम राष्ट्रका जनप्रतिनिधि गद्दार भइदिँदा जनताले मातृभूमि गुमाए ।

भारतले लेन्डुपलाई विद्रोहमा उतारेर निर्वाचन गरायो । जितायो । करिब २५ वर्षको भारतीय चलखेलपछि १० अप्रिल १९७५ मा सिक्किम विधानसभाले भारतमा विलय गर्ने निर्णय गर्‍यो । सिक्किम भारतको भयो ।

२० मार्च १९५० मै भारतको विदेश मन्त्रायलको एक विज्ञप्तिले भनेको थियो, ‘सिक्किम भारत संरक्षित एक राज्य रहनेछ ।’ ब्यालेट सिजर (मतद्वारा कब्जा)बाट भारतले हडपेको भूमि हो, सिक्किम । राष्ट्रघातको सिकार भएको पछिल्लो उदाहरण हो, सिक्किम ।

नेपालका राजनीतिक घटना-परिघटना हेर्दा सिक्किममा प्रयोग भएको भारतीय ‘फर्मुला’ले नै सबै कुरा भित्रभित्र सूत्रबद्ध गर्दैछ । धार्मिक उपनिवेश र फिजीकरण पनि एकसाथ चल्दैछन् । सुरक्षा, सैनिक-सामरिक र वैदेशिक नीति भारतलाई सुम्पेर आत्माबिनाको शरीर भएको छ, भुटान ।

कठपुतलीतन्त्रमा चलेको छ । कमजोर राष्ट्रवादको सबैभन्दा नजिकैको उदाहरण हो, भुटान ।
भनिन्छ, सबैभन्दा राष्ट्रवादी राजाहरू हुन्छन् । हुँदैनन् भन्न सकिँदैन । तर, राजालाई राष्ट्रको भन्दा धेरै बढी राजगद्दीको माया हुन्छ । सम्पत्तिको हुन्छ ।

राष्ट्रको राजगद्दीलाई पनि राजाहरू निजी ठान्छन् । राजाहरू राष्ट्रवादी देखिन्छन्, वस्तुतः हँदैनन् । आफ्नो राजगद्दी र सम्पत्ति जोगाउन राजाहरूले पनि राष्ट्रघात गरेका हुन्छन् । कालापानी राजकीय सिकार भएको कुरा ‘सेलेक्टेड वर्कस् अफ जवाहरलाल नेहरू’ किताबमा छ भन्नेहरू पनि छन् ।

राजाको राजगद्दी र सम्पत्ति मोहको सिकार भएको हो, भुटान । उनले राष्ट्रको तालाचाबी भारतलाई बुझाउँदा नै आफूलाई सुरक्षित ठाने । लगभग चार सय वर्षदेखि बसेका नेपालीलाई लखेटेर झन् सुरक्षित माने । जोंखा नजान्ने, घो र किरा-टेगो नलगाउने नागरिकलाई शत्रु देखे । रातारात लखेटे ।
हामी कस्तो राष्ट्रको अभ्यास गर्दैछौं ? माथिका यी जिउँदा घटनासँग हाम्रा अहिलेका कुन नेताको चरित्र नमिल्ला ?

गत साउनमा भारतीयले सप्तरीको तिलाठीमा बाँध बाँध्न थाले । दसगजामा निरन्तर भइरहेको भारतीय थिचोमिचो झन् बढ्यो । तिलाठीवासीले नेता गुहारे । सरकार गुहारे । प्रहरी-प्रशासन गुहारे । कतैबाट केही भएन । बाँध रोकिएन ।

हिजोसम्म ढाकाटोपी ढल्काएर दरबार छिर्नेहरू आज धोती लगाएर मधेसका ‘नयाँ मुल्ला’ भएका छन् । सधैं नेपाली बोल्नेहरू आज पान चपाएर हिन्दीमा भाषण गर्दैछन् । राष्ट्रवाद र राष्ट्रियता टोपीमा पनि हुँदैन, धोतीमा पनि हँदैन । भाषामा मात्रै पनि हँदैन । आत्मामा हुन्छ ।
विकल्प भएन, आफैं जागे जनता । भिडे भारतीयहरूसँग । रक्षा गरे मातृभूमिको ।‘ किनकि स्वाभिमानको कुरा थियो । देशको धरतीको रक्षाको कुरा थियो’, गर्व गर्छन् तिलाठीका नायक देवनारायण यादव । उनलाई राजनीतिको हैन, आफ्नो राष्ट्रको चिन्ता छ । उनलाई प्रदेश चाहिएको छैन, आफ्नो देश चाहिएको छ । माटो चाहिएको छ।

‘म त मेरो ज्यानमा एक थोप रगत भएसम्म सिमानामा केही हुन दिन्नँ । एक मिनेट आँखा चिम्लियो भने तिलाठी भारत बनिसक्छ ।’ मातृभूमिको छातीमा परचक्री पाउ पर्न नदिन देवनारायणसँगै रक्ताम्मे हुँदै लडे त्यहाँका जनता ।

तराई क्षेत्रमा भारतीय थिचोमिचो सधैं छ । सधैं लुटिएका छन् जनता । उखेलिएका छन् जंगे पिलरहरू । कति हो कति छन्, रातारात भूमि गुमाएर सुकुमबासी बन्ने । ‘मधेसीयो का मधेस’ भन्नेले आजसम्म के गरे ? तराईका जनताले हिसाबकिताब राखेका छन् ।

हिजोसम्म ढाकाटोपी ढल्काएर दरबार छिर्नेहरू आज धोती लगाएर मधेसका ‘नयाँ मुल्ला’ भएका छन् । सधैं नेपाली बोल्नेहरू आज पान चपाएर हिन्दीमा भाषण गर्दैछन् । राष्ट्रवाद र राष्ट्रियता टोपीमा पनि हुँदैन, धोतीमा पनि हँदैन । भाषामा मात्रै पनि हँदैन । आत्मामा हुन्छ । उनै देवनारायणलाई सोधे हुन्छ, कहाँ हुन्छ राष्ट्रवाद ? के हो राष्ट्रवाद ?

भित्तामा कोरिने नारा हैन, आत्मामा अंकित हुने जीवन्त चेतना हो, राष्ट्रवाद । राष्ट्रवासीको प्राण हो, राष्ट्रवाद । त्यो कुरा राजेन्द्र महतोदेखि खड्गप्रसादहरूलाई हैन, देवनारायणहरूलाई थाहा छ ।
सुस्ता, कालापानी, लिपुलेकका लागि धेरै नारा लागे । भारतविरुद्ध सुरुङयुद्धको उद्घोष गरेर फिर्ता लिन्छौं भन्नेसम्मका निस्किए तर ती सबै कपट थिए ।

कपटको सिकार भए धेरै नेपाली तन्नेरी । विधुवा बने कतिका पत्नी । टुहुरा भए कति लालाबाला । अन्धराष्ट्रवाद र उग्रराष्ट्रवादका नाटक थिए ती । पोपुलिजम् (जनरञ्जकवाद)को अभ्यासका रूपमा धेरै वर्ष चले यी नाटक । अन्ततः कथित वामपन्थ विचारबाट उम्रिएका राष्ट्रघातका असल नमुना साबित भए । सबै छर्लंग भयो, राष्ट्रमाथि ‘पोपेट’हरूको भद्दा खेल थियो त्यो ।

सत्ताबाहिर हुँदा भारतको उग्र विरोधलाई नै राष्ट्रवाद बनाएर ‘गरम मसला’का रूपमा नेपाली राजनीतिमा अझै प्रयोग हँदैछ । भारतको कस्मेटिक विरोध नै मूलतः नेपाली वामपन्थी राजनीतिको राष्ट्रवाद र राष्ट्रियताको वस्त्र थियो । अहिले हेरिनसक्नु छ, नक्कली राष्ट्रवादी वस्त्र उत्रिएको नांगो शरीर ।

कम्युनिजममा राष्ट्रवाद र राष्ट्रियता हुँदैन । अझै पनि कुनै वामपन्थीले राष्ट्रवादको नारा दिन्छन् भने ती कम्युनिस्ट हँदैनन् । कम्युनिस्ट हुँ भन्छन् भने ती कहिल्यै राष्ट्रवादी हुँदैनन् । वस्तुगत सत्य के पनि हो भने नेपालको राजनीतिमा सबैभन्दा बढी राष्ट्रवाद र राष्ट्रियता बिक्यो ।

किनकी यसलाई सबैभन्दा सस्तो बनाइयो । सस्तोको राष्ट्रवादको भीषण परिणाम अहिले देशले भोग्दैछ । निरीह भएको छ नेपाल आज ।

राष्ट्रवाद डरलाग्दो हतियार पनि हो । शासकले जनतामा राष्ट्रवाद र राष्ट्रियताको भय पैदा गराएर त्यही भयको तुवाँलोमा मनपरीतन्त्र चलाउँछन् । मूलतः कम्युनिस्ट, तानाशाही र एकतन्त्रीय शासकले राष्ट्रवादलाई भयवादमा फ्युजन गरेर शासन गर्छन् ।

पञ्चायतले यही विधि अपनायो । राष्ट्रवादलाई शासनको वैशाखीमात्र बनायो । सधैं राष्ट्रवादको डर देखायो । पञ्चहरूले राजाको भक्ति गाउनेबाहेक केही गरेनन् । राजाको खोक्रो भक्ति नगर्नेलाई अराष्ट्रिय तत्व घोषणा गरे ।

भारतीय सत्ता संस्थापनले बीपी कोइरालालाई पनि नचाउने प्रयत्न गर्‍यो । भारतीय सर्त मान्नुभन्दा गर्धन थापेर स्वदेश फर्कनु बेस ठान्नुभो उहाँले । बीपीले भन्नुभयो, ‘राजासँग हाम्रा प्रशस्त मतभिन्नता छन् तर देश बचाउने कुरामा हामी सबै एकसाथ हुनुपर्छ । मुलुकको सार्वभौमसत्ताको रक्षाका लागि राजनीतिक दल र राजा मिल्नुपर्छ ।’

२०३३ सालमा बीपी कोइराला मेलमिलापको नीति लिएर फर्किनुभो । तर राजाले पनि बुझ्न सकेनन् बीपीलाई । बीपीको राष्ट्रभक्ति र राष्ट्रवादलाई । त्यो गम्भीर गल्ती थियो । अकर्मण्यताको सिकार भए स्वर्गीय राजा । हाम्रो राष्ट्रवाद झन् कमजोर भयो ।

पञ्चायतकालभरि खोक्रो राजभक्ति गाएर सुत्ने पञ्चहरूमात्र राष्ट्रवादी भए । बाँकी सबैलाई अराष्ट्रिय तत्व र राष्ट्रघातीको बिल्ला भिराए पञ्चहरूले । बेसुर राष्ट्रवादको लयहीन गीत गाएर देश लुट्नमा नै तल्लीन रहे पञ्च । भक्तिराग सुनेर बसे राजाहरू । पञ्चहरूले बकाइनाको वैशाखी टेकाएर ३० वर्ष टिकाएको पञ्चायत ढल्यो ।

अहिलेको नेपाली कांग्रेस बीपीको आत्मा कुल्चिएर उभिएको छ । भोका कांग्रेसहरूले राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजलाई पोलेर खाए । पचाए, सके । कांग्रेसभित्र देखिएको डरलाग्दो विचलन पनि राष्ट्रियतालाई धराशयी बनाउन सहयोगी भएको छ ।

राष्ट्रवादको परिभाषा पढ्न किताबका ठूल्ठूला ठेली पल्टाउनु पर्दैन । राष्ट्रवाद भनेको राष्ट्रप्रतिको निष्ठा हो । इमान हो । कर्तव्य हो । समर्पण हो । राष्ट्रको हित र उन्नतिलाई सर्वोपरि ठान्नु हो । राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नु हो । राष्ट्रलाई सदैव सबैभन्दा माथि राखेर कर्तव्य पूरा गर्नु हो । जनताको पीडा र मर्का बुझ्नु हो ।

आफ्नै डा. गोविन्द केसी, सुशीला कार्की, कुलमान घिसिङ र लालबाबु पण्डितबाट जान्न सकिन्छ राष्ट्रवादको अर्थ । पेसाप्रतिको डा. केसीको निष्ठा, मर्यादा र विकृति-विसंगति विरुद्धको निरन्तरको लडाइँ नै राष्ट्रवाद हो ।

न्यायमूर्ति सुशीलाको आत्मसम्मान र विवेक नै राष्ट्रवाद हो । एउटा कर्मचारी कुलमान इमानदार भइदिँदा जनताले तीसौं वर्षदेखि भोगेको अन्धकारबाट मुक्ति पाएका छन् । यो इमानदारिता नै राष्ट्रवाद हो ।

राजेन्द्र महतो, उपेन्द्र यादव, महन्थ ठाकुर र हृदयेश त्रिपाठीहरू बारम्बार मन्त्री भए । सत्तामा खेले तर उनीहरूजस्तै तराई मूलका एउटा लालबाबु पण्डितको छवि किन बनाउन सकेनन् ? प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल, शेरबहादुर देउवा, खड्गप्रसाद ओली, माधव नेपाल, झलनाथ खनालले पनि लालबाबुको जति ल्याकत किन देखाउन सकेनन् ?

किनभने यी कसैमा कुनै काम गर्ने निष्ठा र इमान थिएन । राष्ट्रका लागि गरौं भन्ने ज्ञानको टुसो नै कहिल्यै पलाएन । लालबाबुले केही गरेका छैनन्, एउटा जाबो निमय बनाए तर यति गर्ने पनि राष्ट्रमा आजसम्म कोही भएन । उनले जे गरे राष्ट्रप्रति निष्ठा र इमानपूर्वक गरे । त्यो नै राष्ट्रवाद हो ।
जहाँ इमान र निष्ठासाथ राष्ट्रप्रतिको कर्तव्य निर्वाह हुन्छ त्यहाँ राष्ट्रवाद सधैं बाँचेको हुन्छ ।

राष्ट्रवादको जीवन राष्ट्रका नियमकानुन र विधिविधानको पालनामा पनि हुन्छ । जहाँ भूकम्पपीडितका लागि दुई वर्षमा पनि एउटा छाप्रो बनाउन नसक्ने सरकारका प्रधानमन्त्री राष्ट्रको ढुकुटीबाट महिनाको २५ लाखको भात खान्छन् । काठमाडौंमै बसेर २५ लाखको हवाईजहाज चढेको पैसा लिन्छन् । महिनामा एक लाख ५० हजारको पत्रपत्रिका पढेँ भन्छन् ।

सांसदहरू संसद्मा फेसबुक चलाएर र उँघेर तलबभत्ता लिन्छन् । आफूखुसी आफ्नो सुविधा दोब्बर गर्छन् । औषधिउपचारका नाममा करोडौं लिन्छन् । आफ्ना नातागोता र अनुचरलाई छ/छ महिनामा करोडौंकरोड सहायता बाँड्छन् । सार्वजनिक पद ग्रहण गरेर कर्पोरेट भ्रष्टाचार गर्छन् ।

माफिया, दलाल र कार्टेलरलाई राज्य सञ्चालनको ठेक्का दिन्छन् । त्यहाँ विधिविधान मृत बनाइन्छ । राष्ट्रवाद मर्छ । खड्गप्रसाद ओलीलगायतका सम्मानीय र माननीहरू, राष्ट्र लुट्नु पनि ठूलो राष्ट्रघात हो । राष्ट्रघात र मातृघात एकै हो ।

गरिबी नै ठूलो कमजोरी हो । भारतले सिक्किममा प्रहार गरेको अस्त्रको सूत्र पनि यही थियो । जब राजनीतिक नेतृत्व व्यक्तिगत स्वार्थ, गुटगत अभिप्सा र विदेशी मन्त्रणाको सिकार हुन्छ तब राष्ट्रप्रति बेइमानी र जनताप्रति उपेक्षा हुन थाल्छ । राष्ट्रप्रतिको बेइमानी र जनताप्रतिको उपेक्षाभन्दा ठूलो राष्ट्रघात अर्को कुनै हुँदैन ।

अहिले सुवास नेम्बाङ देशको अस्तित्व संकटमा पार्ने कुनै पनि प्रस्ताव स्वीकार्य हुँदैन भन्दैछन् । तर, हिजो संविधानसभासको सभाध्यक्षको ‘अग्लो कुर्सी’मा बसेर रातारात संकटका शस्त्रअस्त्रले भरिएका मालगाडी देशमा भित्र्याउने को थियो ?

बिना राष्ट्रिय बहस, बिनाछलफल, बिनासंवाद, बिनाचिन्तन र बिनाजनताको अभिमत किन थोपरिए संकटका पहाडहरू ? कहिलेसम्म गर्ने पाखण्डपूर्ण राजनीति ? कति हदसम्म हुन्छ, राष्ट्रियतामाथि खेलवाड ? यो राष्ट्रघात हो कि होइन ?

२०५२ वर्षको इतिहास बोकेको नेपाल आज अभूतपूर्व संकटमा छ । इतिहासमै सबैभन्दा डरलाग्दो घडीमा राष्ट्रको अस्तित्व उभिएको छ । भोलि के हुन्छ ? देश-देशावरमा रहेका नेपालीमा त्रास र संकटको बादल छाएको छ ।

देश सिमानामा मात्र हँदैन, त्योभन्दा ठूलो देश भावनामा हुन्छ । नेपाली मूलका भारतीय प्रशान्त तामाङ हुन् वा हाम्री तेरिया मगर हुन्, इन्डियन आइडल बनाएर जिताउँदा आफूले जितेको महसुस गर्छन् । पुष्षा बस्नेत हुन् वा अनुराधा कोइराला हुन्, सीएनएन सुपरहिरो र हिरो बनाउन रातारात नसुती भोटिङ गर्छन् । जातजाति, भाषाभाषी र क्षेत्रीयताभन्दा धेरै माथि छन् नेपाली ।

तर, कहाँका सपेराले नचाउँदैछन्, क्षेत्रीयता र जातीयताका नागहरूलाई ? जनतालाई राष्ट्रियताको परिभाषा सिकाउन जरुरी छैन, नेताले बुझे हुन्छ । तराईमा भारतको सिमानामा झुप्रो हालेर बस्ने हुन् वा हिमालमा चौंरी चराउने हुन्, नागरिक सधैं इमान्दार छन् राष्ट्रप्रति । राष्ट्र र राष्ट्रियताको भाव सधैं बाँचेको छ जनतामा । तर, त्यही राष्ट्रमा राष्ट्रियता किन यति कमजोर ? त्यही राष्ट्रले आज किन भोग्दैछ कहालीलाग्दो संकट ?

किनभने हामी जुनु राष्ट्रका नागरिक हौं, त्यही राष्ट्रका निर्माताको सालिक उखेलेर फ्याक्छौं । जुन राष्ट्रका नागरिक भनेर स्वाभिमान गर्छौं, त्यही राष्ट्रका पिताको घोर अपमान गर्छौं । हामी यस्तो राष्ट्रका नागरिक भयौं, जसले राष्ट्र निर्माण गर्‍यो, त्यसलाई इतिहासबाट मेट्ने प्रयत्न गर्‍यौं । छिमेकी र परचक्रीबाट आगो पैंचो ल्याएर आफ्नो घर सल्कायौं । अहिले आफ्नो घरको आगो बैरीले तापिरहेका छन्, हामी थुर्थुर कामिरहेका छौं ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति राज्यले गरेको अनादर पनि राष्ट्रवाद र राष्ट्रियताप्रति डरलाग्दो विचलन थियो । राष्ट्रघातको घृणास्पद आयातीत अभ्यास थियो । राष्ट्र भनेको भूगोलमात्र हैन, राष्ट्रवासीको स्वाभिमान हो । आज भूगोलसँगै स्वाभिमान पनि हराउँदैछ । इशारामा नाच्छ छोडौं, राष्ट्र जोगाऔं ।

१६ पुष २०७३ मा अन्नपुर्ण पोष्टमा प्रकाशित लेख।

तपाईंको प्रतिक्रिया

थप खबर