महाधिवेशनको लक्ष्य कता ?

  श्रावण ३१, २०७७

नेपाली काँग्रेसका हरेक सदस्य र शुभेच्छुकको गुनासो सुनिन्छ, नेपाली काँग्रेस हिजो जस्तो रहेन, नेपाली काँग्रेस सम्पूर्ण काँग्रेसीको बन्न सकेन । यहाँ प्रजातन्त्र/लोकतन्त्रप्रेमी काँग्रेसी हुन्छन् तर खुलेर नेपाली काँग्रेस बन्न सक्दैन वा “म काँग्रेस हुँ” भन्न सक्दैनन् । काँग्रसीलाई “म नेपाली काँग्रेस” भन्न विचल्लीत हुनुपरेको नेपाली काँग्रेसमा लामो समयदेखि व्याप्त सैद्धान्तिक र व्यवहारिक विचलनले हो भन्न सकिन्छ ।

नेपाली काँग्रेस एउटा जीवन्त संस्था हो, यस दलले अङ्गालेको विचार पद्धति र यस दलप्रति आम नागरिकले दर्शाएको ममताले यस संस्थालाई जीवित राखेको छ । प्रजातन्त्र बहालीको लागी अनवरत रूपमा सङ्घर्ष गरेको यस दलको गरिमामय इतिहास छ, जसलाई सम्झँदा मात्र पनि यस दलका सदस्यको छातीमा रगत भुलुक्क उम्लिन्छ, छाती चाैँडा हुन्छ र छुट्टै जोस पैदा हुन्छ । तर वर्तमान् सम्झँदा नि ? नेपाली काँग्रेसको आजको र भविष्यको निर्धारण त आज गर्दै गरेको कार्यले निर्देशित गर्छ/गर्नेछ । इतिहासको गर्विलो भरोसा पाएको नेपाली काँग्रेस साँच्चै आजको कर्मबाट भोलिको लागी बलियो घर बनाउँदै छ त ? चाैधाैँ महाधिवेशनको पूर्व सन्ध्यामा नेपाली काँग्रेस हुँ भन्नेले खुला हृदयले सोच्ने बेला आएको छ ।

नेता कार्यकर्ता

नेपाली काँग्रेसको सांगठनिक संरचनाबारे केहि भनाइहरू सुनिने गरेका छन् । जस्तै – पार्टीमा कार्यकर्ता होइन नेता मात्र छन्; कार्यकर्ता कोहि छैनन्; गुट निर्देशित झुण्डहरू मात्र छन, हामी कतिपय काँग्रेस कार्यकर्ताको बुझाइमा आधारित, यी भनाइहरू अर्ध वा पूर्ण तथ्य हुन । 

वास्तवमा नेता र कार्यकर्ता भन्दै गर्दा विभेदको विजारोपण गरिएको छ । नेपाली काँग्रेस दलभित्र नेताहरू मानिदिनका लागि मात्र कार्यकर्ताको आवश्यकता महशुस गरिन्छ । दलको बलियो उपस्थिति बनाएर देशमा लोकतान्त्रिक विचार पद्धतिको विकास तथा विकास निर्माणको नविन सोचलाई अगाडि बढाइनुपर्छ भन्ने मान्यतालाई खास महत्व दिन छाडिएको भान हुने गर्दछ । नेपाली काँग्रेसका नेता हुन या कार्यकर्ता उनीहरू नेपाली काँग्रेका एक जिम्मेवार सदस्य हुन भन्ने स्थापित हुन जरूरी छ । दलको नेताले पनि म एक कार्यकर्ता हुँ भन्ने महशुस गरेर पार्टीको तल्लो तहमा रहेर काम गर्ने कार्यकर्ताप्रति समानुभूति दर्शाउन सक्नुपर्दछ । कार्यकर्ता प्रति समानुभूति राख्न नसक्ने नेताले अबका दिनमा जनताका दिनानुदिनका आवश्यकता प्रति समानुभूति राख्न सक्दैन । समानुभूतिको अभावमा दलसँग आम जनता जोडिने क्रम घट्न वा टुट्न सक्दछ ।

नेपाली काँग्रेसमा सबै नेता छन, कार्यकर्ता छैनन् भन्ने तर्कलाई नविन ढंगले परिमार्जन गर्न जरूरी छ । नेपाली काँग्रेसले आफूसँग आबद्ध नेता र कार्यकर्तामा विभाजन गर्दैन बरू हरेक व्यक्तिलाई उसको नेता बनाउँछ भन्ने कुरा बुझाउन जरूरी छ । हरेक व्यक्तिमा भएको नेतृत्वको गुणलाई बढावा दिन्छ भन्ने कुरा स्थापित भएकै छ अब वैचारिक रूपमा पनि बुझाउन जरूरी छ । नेपाली काँग्रेसको हरेक सदस्य आफैंमा नेता हो जसले आफ्नो, समाजको, दलको र राष्ट्र्रको नेतृत्व गर्ने अभिभारा लिएको छ । व्यक्ति-व्यक्तिमा भएको नेतृत्वको गुणले समृद्ध भएर नेपाली काँग्रेस उभिएको छ भनेर बुझाउन जरूरी छ । हामीले अब नेता र कार्यकर्तामा रहेको विभेद चिर्न जरूरी छ । पार्टीको तल्लो तहमा रहेको र उच्च पदमा रहेको कार्यकर्ताले पार्टीमा बराबरी हिस्सेदारी राख्छन् भन्ने कुरा स्पष्ट हुनुपर्दछ । नेताले उसलाई नै छान्ने कार्यकर्ता चुन्ने पद्धति होइन, कार्यकर्ताले नेता चुन्ने पद्धतिलाई बढावा दिन सकेको खण्डमा फरक परिणाम आउनेछ  । नेता र कार्यकर्ताको बारेमा स्पष्ट बन्न नसकुन्जेल पार्टी आफैंमा रूमल्लिने छ । आफू को हुँ र के-के गर्न पाउँछु र मेरा सिमा के हुन् भन्ने बुझाई भएका सदस्यले मात्र नेपाली काँग्रेसलाई आगामी पिढिको पनि साझा संस्था बनाइरहन सक्नेछन् । नेता र कार्यकर्ताको हातले नै नेपाली काँग्रेसलाई डोहोर्याउने हो ।

कस्तो नीति ?

नेपाली काँग्रेसमा नीति र विचार बारे एकदम कम मात्र चर्चा हुन्छ । महाधिवेशनको सङ्घारमा त झन नीतिको अत्तोपत्तो हुन्न, नेताकै बारेमा मात्र चर्चा हुन्छ । नीति छाडेर नेताको मात्र चर्चा हुँदा दल कहाँ छ र कता जाँदै छ भन्नेसम्म हेक्का हुन्न । प्रजातन्त्र र प्रजातान्त्रिक समाजवादको आलोकले गर्दा बलिरहेको यस दलको वैचारिक दियोमा तेल थप्न हामीले बिर्सिन लागेका त छैनाैँ ? नीतिले निर्देशन नगरेको नेता विचलित र मनमाैजी हुनसक्दछ । 

नेपाली काँग्रेसका संस्थापक नेता, जननेता वि.पि कोइराला विश्व समाजवादी आन्दोलनको अग्रणी व्यक्ति हुनुहुन्थ्यो । उहाँले लोकतान्त्रिक समाजवाद, सबै खाले नागरिकको न्यूनतम रूपमा समान हैसियत बनाएर मात्र आउने परिकल्पना गर्नुभएको थियो । उहाँको नेतृत्वको सरकारले छोटो समयमा नै गरेको भूमिसुधार लगायतका जनता लक्षित कार्यहरू नेपालको इतिहासमा भएका राम्रा कार्यहरू हुन् । समाजवाद तर्फको यात्रामा रहेको नेपाली काँग्रेसले २०४८ पछि विश्वको अर्थतन्त्रमा आएको ‘खुला अर्थतन्त्र’को मोडललाई नेपालमा भित्र्यायो । खुला अर्थतन्त्र नीतिकै कारण शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार तथा अन्य विकास पूर्वाधारमा नेपाल देशले धेरै नै फड्को मारेको छ । तर पनि नेपाली काँग्रेसभित्र समय सुहाउँदो नीतिगत बहसमा आएको शिथिलता तथा व्यक्तिवादी विवादले गर्दा जसभन्दा बढी अपजसको भागीदार हुनुपरेको छ ।

नेपाली काँग्रेसभित्र नीतिगत बहस हुन नसक्नुको कारणले ठूला वेफाइदा भएका छन् । पहिलो, आम नागरिकले होइन दलका सदस्यले पनि नेपाली काँग्रेस कहाँ छ र कता जाँदै छ भनेर भेउ पाउनै सकेनन् । दोश्रो, नेपाली काँग्रेसका काम र यसका प्रभाव बारेमा दलका सदस्यले धारणा बनाउन पनि विपक्षी प्रतिस्पर्धी दलले बनाएको धारणा र कुप्रचारको भर पर्नुपरेको छ । तेश्रो, हाम्रो नीति किन ठिक र के-के कारणले बेठिक भनेर सार्वजनिक चर्चा हुन नै सकेन । चाैँथो र महत्वपूर्ण, हाम्रो मूल सिद्धान्त रहेको समाजवाद र (विश्वभरी उदाएको नयाँ नीति) खुला अर्थतन्त्र तथा उदार अर्थनीतिलाई समायोजन गर्ने विन्दु खोज्ने सामर्थ्य नै राखेनाैँ । हामीले व्यापार तथा लगानीका लागी उदार भएर ढोका खोल्याैँ । नीजि लगानीकर्ता, वैदेशिक लगानी प्रति उदार हुँदा हामीले उनीहरूलाई कडा लगाम लगाउनुपर्छ भन्ने नै ठानेनाैँ । 

नीजि लगानीकर्तालाई सहज लगानी वातावरण दिँदै गर्दा हामीले सामाजिक हितका लागी बलियो लगाम पनि लगाएको भए खुला अर्थतन्त्र तथा उदार अर्थनीतिसँग समाजवादको समायोजन गर्न सक्थ्याैँ । हामी यहाँ चुक्दा केही उल्लेखनीय घटना घटेका छन्- एक, डक्टर गोविन्द केसीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा सुधारको माग राखेर पटकपटक आमरण अन्सनको माध्यमबाट सत्याग्रह गर्नुपरेको छ । दुइ, युवा वा नयाँ पुस्ताका इः कोरोना महामारीका समयमा जनताप्रति प्रतिबद्ध भएर काम गर्ने सरकारको खोजीमा आमरण अनसन सहितको सत्याग्रहमा छन् । हामीले समाजवादी नीतिले निर्दिष्ट भएर काम नगर्दा विपक्षीको निकम्मा सरकार हुँदा पनि बलियो रूपमा आवाज चर्काउन सकेका छैनाैँ ।

विगत केही महिनादेखि संसदबाट अनुमोदनको पर्खाइमा रहेको एमसिसि परियोजनाले बजार ततायो । नेपाली काँग्रेसको सर्वोच्च केन्द्रीय कार्यसमितिले एमसिसिका पक्षमा निर्णय गरेर अनुमोदनका लागी पहल गरिरहँदा नेपाली काँग्रेसका कयाैँ नेता कार्यकर्ताले विमति जनाए । विमतिका कारण एमसिसि विरोधीको झुटो प्रचारका साथै नेपाली काँग्रेसको नेतृत्वको निर्णय प्रतिको अविश्वास पनि हो । विरोधीको झुटो प्रचार उनीहरूको धर्म हो भन्ने मान्दै गर्दा नेपाली काँग्रेसका नेतृत्वले गरेको निर्णयप्रतिको अविश्वास बिर्सिन मिल्दैन । नेतृत्व प्रति अविश्वास किन भयो त ? यो अविश्वासलाई हामीले दलभित्र गर्नै छाडेको नीतिगत बहसले मलजल गरेको हो । हामीले धेरै परियोजना विदेशी अनुदान तथा ऋणबाट श्रोत जुटाएर सम्पन्न गरेका छाैँ र अझै धेरै चलिरहेका छन । अरूण तेश्रोपछि व्यापक चासो पाएको एमसिसि परियोजनाले हो । वैदेशिक श्रोतबाट गर्न खोजिएको ठूलो लगानी किन विवादमा परेको/पारिएको छ ? किन दलकै सदस्यले केन्द्रीय समितिको निर्णयप्रति नकारात्मक बन्ने अवस्था आयो ? यो विषयमा मनन गरेर वैदेशिक सहायताका बारेमा नीतिगत बहस चलाउनुपर्छ । साना योजनामा खोलासरी श्रोत बगिरहँदा चुप बस्ने वा रोक्न हुन्न भनेर वकालत गर्नेहरू ठूला योजनाका  विरूद्ध अभियानमा हुन्छन् भनेर आम सदस्य र आम जनताले बुझ्नेगरी दलभित्र बहस हुन जरूरी छ ।

परराष्ट्र मामिलामा सन्तुलित रहने, समदुरीमा रहने र राजनीतिक सम्बन्धनलाई प्राथमिकतामा राखी देशको फाइदाको लागी कुटनीतिको प्रयोग गर्नुपर्छ भनेर वि.पि. कोइरालाले गरेर सिकाउनुभएको थियो । नेपाली काँग्रेस आजसम्म पनि यही नीतिले निर्देशित छ विदेश मामलामा । कम्युनिस्टको एउटा खेल छ देशभित्र उग्र राष्ट्रवाद देखाउने तर देश बाहिर देशको अहितमा समेत सम्झाैता गरेर आफ्नो अस्तित्व जोगाउने । कम्युनिस्टको उग्रराष्ट्रवादले हाम्रो दलको राष्ट्रवादलाई होचो देखाउन भरमग्दुर प्रयास गरेको देखिन्छ । राष्ट्रवादलाई देशको समग्र हितमा प्रयोग गर्नेभन्दा नि चुनावमा मत लिने तुरूपको रूपमा मात्र प्रयोग गर्ने प्रचलनलाई चिर्न नीतिगत प्रशीक्षणमा परराष्ट्र नीतिका बारेमा जानकारी गराउने र केन्द्रीय तहमा बहस चलाउन जरूरी छ । नेपाल छिमेकी राष्ट्र तथा युरोप र अमेरिकाको सुरक्षा नीतिको फन्दामा परेको बेलामा केन्द्रीय तहमा हुने विमर्शले कुटनीतिक वृतमा द्विपक्षीय वा बहुपक्षीय सम्बन्धलाई ल्याउन सक्छ । हामी राष्ट्रवादको मामलामा कमजोर छैनाैँ र झुकेका छैनाैँ भनेर सदस्यहरू तथा आम जनतालाई भन्न जरूरी छ ।

अन्त्यमा, 

महाधिवेशन दलको लागी बिराट मेला हो । यो मेलामा नेता मात्र छान्ने तर नीतिबारे मन्थन नै नहुने हो भने एकातर्फ मात्र मोडिँदा दल दुर्घटनामा पर्नसक्छ । नयाँ पुस्तामा पहुँच बनाउन नसक्नुको कारण प्रभावशाली नेताको अभाव भएको भन्ने बुझाइ मात्र राख्नु गलत हुन्छ । जबसम्म नेतालाई नीतिले निर्देशित गर्दैन, तबसम्म जस्तोसुकै प्रभावशाली नेता पनि प्रभावहिन हुनेछ । ठूला कुरामा मात्र केन्द्रीत भएर नीतिगत बहस हुनुपर्छ भन्नेसम्म मात्र नीतिगत बहसलाई सिमित पारिनुहुन्न । स्थानीय स्तरमा कसरी काम गर्ने, के काम गर्ने भन्ने विषयमा स्थानीय स्तरमा गम्भीरतापूर्वक लाग्न जरूरी छ । केन्द्रीय नीतिको प्रभावकारिताको लागी सहायक नीति र कार्यक्रम बनाउन स्थानीय पार्टी सङ्गठन अब्बल रूपमा उभिन जरूरी छ । स्थानीय सरकारको चुनावमा जित्न केन्द्रीय नीतिभन्दा बढी जिम्मेवार स्थानीय नीति तथा कार्यक्रमहरू हुनेरहेछन् भनेर गत स्थानीय चुनावको अभियानले हामीलाई सिकाएको छ । आ-आफ्नो स्थानबाट नीतिगत बहस गर्न जरूरी छ । 

१४औँ महाधिवेशन हाम्रो लागी सबैभन्दा ठूलो र निकटको अवसर हो । हामीलाई दलको हरेक स्थानको नेता चुन्न एकदम गाह्रो छ । हामीले नीतिगत र वैचारिक बहस गरेको खण्डमा नेता छनोट प्रकृया केही सहज हुनेछ । यो महाधिवेशनमा हामी कार्यकर्ताको साथै जिम्मेवार नेता बन्न जरूरी छ । हामीले हाम्रो स्थानबाट कुशल नेतृत्व गर्दै नीतिले निर्देशित नेता बनाउनुपर्ने छ । व्यक्ति, समाज, दल र राष्ट्रको हित गर्नसक्ने नेता बन्नु र बनाउनु छ । हामीभित्रको नेता ब्यँझाउनुपर्ने छ अब !

आत्मराम अकौलिया

तपाईंको प्रतिक्रिया

थप खबर