मिडियाबाजी डटकम काठमाडौँ, चैत्र २१ । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्नेछ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीति सम्बन्धी आवश्यक सुझाव संकलन तथा छलफल हुनेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
महिला तथा सामाजिक मामिला समितिको बैठक पनि आजै बस्दै छ । बैठकको कार्यसूचीमा सामाजिक परिचालिकाहरूको व्यवस्थापन सम्बन्धको छलफल रहेको छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग छलफल हुँदै छ ।
बैठक बिहान ११ बजे बस्नेछ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका विषयमा गैरसरकारी संघसंस्था, नागरिक समाजलगायतसँग छलफल हुनेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।