मिडियाबाजी डटकम काठमाडौं, माघ १० । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ८ खर्ब ७३ अर्ब ४७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो वर्षको ६ महिनाको तुलनामा झण्डै २२ प्रतिशतले कमी हो । भन्सार विभागका अनुसार साउनदेखि पुस मसान्तसम्म सात खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँको सामान विदेशबाट आयात भएको छ । यो अघिल्लो वर्षको ६ महिनाको तुलनामा २० दशमलव ६८ प्रतिशतले कमी हो । यस्तै, ६ महिनामा ८० अर्ब ८० करोड रुपैयाँको सामान निर्यात गरेको छ, यो अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले कमी हो ।
६ महिनामा नेपालको व्यापार घाटा सात खर्ब ११ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको ६ महिनाको तुलनामा यो वर्ष व्यापार घाटामा १९ दशमलव १५ प्रतिशतले कमी आएको भन्सार विभागले जनाएको छ । अघिल्ला वर्षहरुमा जस्तै, फलाम, पेट्रोलियम पदार्थ, खाद्यान्न, विद्युतीय सामग्रीलगायतका वस्तु आयातमा अर्बौँ रुपैयाँ बाहिरिएको छ ।