मिडियाबाजी डटकम काठमाडौँ , भाद्र ४ । मुलुकका ५३९ स्थानीय तह पूर्ण रुपमा विद्युतीकरण भएका छन् । १९६ स्थानीय तहमा आंशिक रुपमा बिजुली पुगेको छ । देशभर सात सय ५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) छन् । हालसम्म राष्ट्रिय प्रसारणको विद्युत् १८ स्थानीय तहमा पुग्न सकेको छैन । राष्ट्रिय प्रसारण ग्रिड नपुगे पनि १८ स्थानीय तहका बासिन्दाले लघुजलविद्युत् र सौर्य ऊर्जाबाट विद्युत् उपभोग गरिरहेको पाइएको छ ।
नेपाल विद्युत् प्राधिकरणले मुलुकभरिका स्थानीय तहका गाउँपालिका र नगरपालिकाका वडासम्मको विस्तृत अध्ययनगरी तयार पारेको विद्युतीकरण तथ्याङ्क २०८१ अनुसार, कूल जनसंख्याको ९९ प्रतिशतमा विद्युत् सेवा पुगेको छ । विद्युतका ग्राहक संख्या सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ । विद्युतको पहुँच पुगेको जनसंख्यामध्ये ९७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र दुई प्रतिशतले ग्रिडभन्दा बाहिरबाट बिजुली उपभोग गरिरहेका छन् ।