मिडियाबाजी डटकम काठमाडौँ, फागुन १५ । सरकारले आन्तरिक ऋण उठाउने प्रयोजनका लागि ३ अर्ब रुपैयाँको नागरिक बचतपत्र तथा ५० करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्रको बिक्रीका खुला गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बुधबार सूचना प्रकाशित गर्दै बिहीबारबाट यी दुवै बचतपत्रमा आवेदन खुला गर्ने जनाएको छ ।
नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको ब्याज अर्धवार्षिक रूपमा सोझै खरिदकर्ताको बैंक खातामा जम्मा गरिने व्यवस्था रहेको छ । सरकारले आन्तरिक ऋण उठाउनका लागि यसपटक बिक्री गर्न लागेको नागरिक बचतपत्रमा ७ प्रतिशत तथा वैदेशिक रोजगार बचतपत्रमा ८.५ प्रतिशत ब्याज दिने जनाएको छ ।
नागरिक बचतपत्र
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ३ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्रको अवधि ५ वर्ष र ब्याजदर ७ प्रतिशत रहेको छ । यस बचतपत्रमा खरीदका लागि इच्छुक नेपाली नागरिकले यही फागुन १५ गतेदेखि चैत १५ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले यस अघि गत मंसिरमा बिक्री गरेको बचतपत्रमा भन्दा ०.५ प्रतिशत विन्दु कम ब्याजदर प्रदान गर्ने जनाएको छ । गत मंसिरमा निष्कासन गरेको ५ वर्षे अवधिको नागरिक बचतपत्रमा ७.५ प्रतिशत ब्याजदर दिएको थियो ।
कार्यालयका अनुसार नागरिक बचतपत्रको ब्याज ६–६ महिनामा भुक्तानी हुनेछ । यसलाई धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने साथै दोस्रो बजारमा समेत कारोबार गर्न सकिनेछ । बचतपत्र खरिदका लागि न्यूनतम आवेदन रकम १० हजार रुपैयाँ निर्धारण गरिएको छ ।आवेदन रकमको अधिकतम सीमा कुल निस्कासनको सीमामा नबढाई १० हजारले भाग जाने रकम हुनुपर्नेछ ।
आवेदन प्रक्रिया अनलाइन मार्फत गर्नुपर्नेछ । बचतपत्रको आवेदन फाराम वेबसाइटमा उपलब्ध हुने र आवेदन पोर्टल मार्फत इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन् । यस प्रक्रियामा, आवेदन पेश गर्ने व्यक्तिको बैंक खाता प्रमाणित गर्नुपर्नेछ र आवेदनमा आवश्यक कागजातहरु अनलाइन अपलोड गर्नुपर्नेछ । यस बचतपत्रको निष्कासन मिति ढिलोमा चैत १८ गते र परिपक्क हुने अवधि अर्थात् फिर्ता पाउने समय २०८६ चैत १८ गते रहेको छ ।
५० करोडको वैदैशिक रोजगार बचतपत्र
यस्तै, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५० करोड रुपैयाँको वैदेशीक रोजगार बचतपत्रको समेत बिक्री खुला गरेको छ । सो बचतपत्रको अवधि ५ वर्ष र ब्याजदर ८.५ प्रतिशत रहेको छ । वैदेशीक रोजगार बचतपत्रमा मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् । यस्तै गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्नसक्ने कार्यालयले जनाएको छ ।