३० हजार टन युरिया आयातका लागि टेन्डर आह्वान

  माघ २९, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ २९ ।  आउँदो धान बालीलाई मलको आपूर्ति व्यवस्था सहज गर्न ३० हजार टन युरिया मल आयातका लागि टेन्डर आह्वान गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले ३० हजार युरिया मलका लागि टेन्डर आह्वान गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहमतिमा अर्थ मन्त्रालयले १७ अर्ब रुपियाँ स्रोत सुनिश्चित गरेपछि टेन्डर आह्वान गरिएको कम्पनीले जनाएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रबन्ध सञ्चालक विष्णुप्रसाद घिमिरेले धान बालीलाई मलको आपूर्ति सहज बनाउन युरिया आयातको टेन्डर आह्वान गरिएको बताए ।

“हिउँदे बाली गहुँ, आलु र तोरीका लागि पर्याप्त मात्रामा मलको मौज्दात छ, थप ६० हजार टन युरिया आउने क्रममै छ,” उनले भने, “चैते धान र बर्खे धानका लागि आवश्यक मल आयात गर्न अहिलेदेखि नै तयारी भइरहेको छ ।” धानबालीका लागि ठुलो परिणाममा मलको आवश्यक पर्ने हुँदा अभाव हुन नदिन अहिलेदेखि नै खरिद प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । कृषि मन्त्रालयका अनुसार हिउँदे बालीका लागि एक लाखदेखि डेढ लाख मेट्रिक टन मल आवश्यक पर्ने गर्छ ।

चालु आव २०८१र८२ मा तीन लाख ८५ हजार मेट्रिक टन मल आयात गर्ने लक्ष्य रहेकोमा माघ अन्तिम सातासम्म दुई लाख ४० हजार मेट्रिक टन मल आयात भइसकेको र बाँकी आउने क्रममै रहेको कम्पनीले जनाएको छ । हालसम्म दुई लाख १४ हजार ४७ टन मल वितरण गरिसकेको कम्पनीले जनाएको छ । २५ हजार टन युरिया र ५० हजार टन डिएपी मौज्दात रहेको कम्पनीले जनाएको छ । सरकारले चालु आवमा पाँच लाख ५० हजार मेट्रिक टन मल खरिद गर्न २७ अर्ब रुपियाँ विनियोजन गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर