१९ चैतदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राति १२ बजेसम्म खुला रहने

  फागुन २३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन २३ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १९ चैतदेखि रातको समयमा संचालन हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटर नजिकको काम पूरा हुन लागेको छ । यो काम सम्पन्न भएपछि विमानस्थल राति १२ बजेसम्म खुला रहने छ । त्यसपछि विमानस्थल दैनिक १८ घण्टा सञ्चालन हुने छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएको मुख्य जटिल काम सकिएपछि चैत १९ गतेदेखि विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुनेछ । धावनमार्गको क्षमता अभिवृद्धिका लागि काम सुरु गर्नुअघि विमानस्थल बिहान ६ बजेदेखि राति ३ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।

यसअघि राति १२ बजेदेखि ३ बजेसम्म उडान गर्दै आएका कतार एयरवेज, फ्लाई दुबई र नेपाल वायुसेवा निगमका उडान राति १२ बजेपहिले नै गराएर विमानस्थल दैनिक १८ घण्टा सञ्चालन गर्ने तयारी रहेको सूचना अधिकारी भुलले बताए । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानस्थलको धावनमार्गको बिच भागदेखि ७५ मिटरभित्रको काम गर्न उडान बन्द गर्नुपर्ने नियम अनुसार हाल विमानस्थल बिहान ७ बजे खुलेर राति ११ बजे बन्द हुँदै आएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर