मिडियाबाजी डटकम काठमाडौँ , भाद्र १४ । नवलपुरको विनयी गाउँपालिका– ७ रानीनगरमा निर्माणाधीन सेप्टिक ट्यांकमा निसास्सिएर तीनजनाको निधन भएको छ । निर्माणाधीन घरको ट्वाइलेटको सेप्टिक ट्यांकभित्र काम गर्ने क्रममा तीनजनाको निधन भएको हो ।
मृत्यु हुनेमा सोही घरका घरधनीका छोरा ३८ वर्षीय छोरा प्रकाशसिंह क्षेत्री, छिमेकी १९ वर्षीय गणेश बोगटी र पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका– ७ का २८ वर्षीय मोहम्द राजा रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरी रेग्मीले दिएको जानकारी अनुसार, वडा नम्बर ७ स्थित रानीनगर भन्ने ठाउँमा निर्माणाधीन घरको ट्वाइलेटको सेप्टिक ट्यांकभित्र काम गर्न पसेका उनीहरू बेहोस भएका थिए ।
बेहोस भएपछि अस्पताल लगिएको र अस्पतालले नै मृत घोषणा गरेको उनले बताए । ‘सेप्टिक ट्यांक बनाउने काम चलिरहेको रहेछ । सोही क्रममा काम गर्न भित्र छिरेका मान्छेहरू निस्सासिएर बेहोस भएका रहेछन्,’ रेग्मीले भने, ‘उनीहरू भित्रै बेहोस भएर ढले । अस्पताल पुर्याएको थियो । अस्पतालले मृत घोषणा गरेको हो ।’ प्रकाशको परासीस्थित जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा, बोगटी र मोहम्मद राजाको भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।