मिडियाबाजी डटकम काठमाडौं,श्रावण १२। नृत्यमा आधारित नेपाली टेलिभिजन शो ‘सुपर डान्सर नेपाल’ को गेस्ट जुरीमा बलिउड स्टार गोविन्दा तय भएका छन् । भदौमा हुने शोको ग्रान्ड प्रिमियरमा उनी गेस्ट जुरीको रुपमा नेपाल आउने निश्चित भएको स्रोतले जानकारी दियो ।चार देखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा चाहिं भुवन केसी, जसिता गुरुङ र सुरेन्द्र राई छन् ।
शोलाई भूषण दाहालले निर्देशन गर्ने भएका छन् । देशव्यापी अडिसन सकिएको शोको मेगा अडिसन चाँडै सुरु हुने जनाइएको छ । पछिल्लो समय बलिउड स्टार गोविन्दा नेपाली कार्यक्रममा पनि सहभागी हुन थालेका छन् ।गत साता अस्ट्रेलियाको सिड्नीमा आयोजना गरिएको नेपाली सांस्कृतिक कार्यक्रममा उनी पत्नीसहित सहभागी थिए । उनकी पत्नी नेपालीभाषी भएकाले पनि नेपालसँग गोविन्दाको सांस्कृतिक निकटता छ ।