सुनकोशी-मरिन डाइभर्सन आयोजना समय अगावै सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

  भदौ ०८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , भाद्र ८ । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई समय अगावै सम्पन्न गर्न निर्देशन दिएका छन्।

आयोजनाको प्रगतिबारे आज मन्त्रालयमा भएको छलफलमा उनले राष्ट्रिय गौरवको आयोजनालाई समयभन्दा अगाडि सक्नेगरी काम गर्न निर्देशन दिएका हुन्। ‘यो देशकै महत्वपूर्ण आयोजना हो। यसलाई तोकिएको समयअगावै सम्पन्न गरेर मुलुकले अधिकतम लाभ लिनुपर्छ’, मन्त्री खड्काले भने।

मन्त्री खड्काले मुलुकको सिँचाई र जलविद्युत् माग पूरा गर्न वैदेशिक ऋण लिएर निर्माण गर्न लागिएको आयोजनालाई तीन चरणमा काम गरेर भएपनि समयमै सक्नेतर्फ लाग्नुपर्नेमा जोड दिए

उनले आयोजना निर्माणको काम राज्य एक्लैले गर्न नसक्ने भएकाले सबैको साथ र सहयोग उत्तिकै आवश्यक रहेको उल्लेख गरे।

ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले चालू आर्थिक वर्षभित्र ४० प्रतिशत काम सम्पन्न गर्नेगरी आयोजना निर्माणको कामलाई तीव्रता दिनुपर्ने बताए। ‘आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानमा मन्त्रालय लाग्छ, काम तीव्र गतिमा हुनुपर्छ’, राज्यमन्त्री तामाङले भने। उनले प्रत्येक हप्ताको कामको प्रगति मन्त्रालयमा पठाउनसमेत निर्देशन दिए।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयकी सचिव सरिता दवाडीले राष्ट्रको भविष्यसँग जोडिएको यस आयोजनालाई चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिइन्। उनले प्रधानमन्त्रीको समेत उक्त आयोजना निर्माणको बारेमा विशेष चासो रहेकाले दिनरात नभनी काम गर्नुपर्ने उल्लेख गरिन्।

तपाईंको प्रतिक्रिया

थप खबर