मिडियाबाजी डटकम काठमाडौं,असोज ३१।सातौँ राष्ट्रिय थारू साहित्य सम्मेलन बाँकेमा गर्ने निर्णय भएको छ । शनिबार थारू लेखक संघ नेपालको कार्यसमितिको बैठकले यो निर्णय गरेको हो ।
कोहलपुर, बाँकेस्थित कोहलपुर पार्टी प्यालेसमा सम्पन्न बैठकले लक्ष्मी चौधरी तथा श्रीदेवी चौधरीलाई कार्यक्रम तयारी समितिको संयोजक चयन गरेको छ ।कार्यक्रमको सहकार्य जंग्रार साहित्यिक बखेरी तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा भएको थियो । सोही कार्यक्रममा सुशील चौधरीको एकल कविता वाचन पनि रहेको थियो ।
चौधरीको ‘बिरहुल बसिया’ नामक कविता संग्रह प्रकाशित छ । कार्यक्रममा करिब दर्जनौँ कविता सुनाएर उनले माहोल तताएका थिए । उनले सोही कविता संग्रहबाट तथा केही नयाँ कविता वाचन गरेका थिए । साथै एकल कविता वाचनको सेसनपछि अन्य कविहरुले पनि रचना वाचन गरेका थिए । कृष्णराज सर्वहारीले वाचित कविताको समीक्षा गरेका थिए ।
यसैगरी एकल कविता वाचनको श्रृंखलालाई आयोजकले निरन्तरता दिने बताएको छ । गत वर्ष छैठौँ राष्ट्रिय थारु साहित्य सम्मेलन भने कृष्णपुरको कञ्चनपुरमा भएको थियो । बाँकेमा थारु साहित्यिक गतिविधि शुन्य अवस्थामा रहेकाले यहाँ सातौं राष्ट्रिय साहित्य सम्मेलन यहाँ गर्न थालेकोमा धन्यवाद दिदै कोहलपुरका व्यापारीद्वय जितेन्द्रकुमार थारु तथा पशुपति चौधरीले जनही १० हजार सहयोग गर्ने प्रतिवद्धता समेत गरेका छन् ।