- हरि खतिवडा
मिडियाबाजी डटकम काठमाडौं,भाद्र ३१। शिक्षा भन्ने बित्तिकै तत्कालीन जिवन पद्धतिलाई सुधार गरी सचेत र गुणस्तरीय रूपमा स्वयमलाई परिवर्तन गर्नु हो। जस्तो कि फोहोर भएको ठाउँमा बस्दा अनेकौं संक्रामक रोग लाग्छ भनेर बुझेपछि आफ्नो बासस्थान वरिपरि सफा राख्नु नै शिक्षा प्राप्तिको परिणाम हो । नेपाली शिक्षा प्रणालीको इतिहासलाई सरसर्ती नियाल्दै गर्दा ऋषिमुनिहरूको तपस्याबाट प्राप्त शिक्षा सँगै गुरु आदेश शिरोधारण गर्ने गराउने पद्धति आजसम्म छ भन्दा अत्युक्ति नहोला ।
विश्व आज चन्द्रलोकको यात्रामा निस्किरहँदा हामी भने उहिल्यै देखि अंगाल्दै आईरहेको शिक्षा प्रणालीबाट पटक्कै बाहिर निस्कन सकेका छैनौं । हरेक क्षेत्रमा नयाँ नयाँ कुराहरूको प्राविधिक विकास भइरहँदा हामी भने अझै पनि पखाला लाग्दा समेत जिवनजल खानुको सट्टा झाँक्री बा को थोत्रो धुलैधुलो लागेको ढ्याङ्ग्रो टक्टक्याउनतिर लाग्दछौँ ।दोष र अन्धविश्वास धङधङी अरुमा मात्र नभएर प्रसस्तै बाँकी छ म सँग पनि । होईन भने मनको डर चरम उत्कर्षमा राती जे कल्पना गरेको हुन्छ त्यही देखिने कुरा बुझ्दा बुझ्दै भूतको डरले किन मटन र बार्दलीबाट शौच गर्थें होला ? मेरो तस्तै गर्ने आदत बसिसक्यो किनकी मैले समाजबाट यी र यस्तै शिक्षा सिकेको छु। शिक्षा केवल व्यक्ति र समुदायमा सिमित रहने कुरै भएन यो सिङ्गो समाज,देशको ऐना पनि हो। नेपाली शिक्षा लिने कतिपय वैज्ञानिक समेत भएका छन्।
हामीले हाम्रो शिक्षा प्रणालीलाई परिमार्जन र गुणस्तरीय बनाउन नसकेपछि शैक्षिक प्रतिफलमा माछो माछो भ्यागुतो भएको छ। नेपाली शिक्षा आफैंमा गलत होइन यो हाम्रो देशको सान, पहिचान र गौरब हो तर यसको प्रदान गर्ने र प्राप्त गर्ने प्रणाली गलत हो। जापानमा प्रावि पढेको विद्यार्थीले आफुले बाँध्ने घडी आफै बनाउने तर नेपालमा हामी डिग्री गरेकाले आफुले खाने तरकारी समेत पकाउन नजान्नु हाम्रो शिक्षा प्रणालीको गलत अभ्यास पक्कै पनि हो। किताबको पानाको मात्रै सुगा रटान गरी जिपिए र प्रतिशत ल्याउन खबरदारी गर्ने हाम्रो अभिभावकीय बानीले विद्यार्थीले शैक्षिक प्रमाणपत्र मात्रै प्राप्त गरेको देखिन्छ। पहिल्यै देखि अनुशासित र ज्ञानी मात्र भएर हाम्रो शैक्षिक प्रणाली कहिले प्राविधिक र व्यावहारिक बन्ला? परिवर्तन र विकास चाहने हो भने हाम्रो शैक्षिक प्रणाली परिवर्तन र सुधार गर्नुपर्छ । पढेको कुरा व्यवहारमा लागू हुने र परिणाममुखी शिक्षा आजको अपरिहार्यता र आवश्यकता हो।
विद्यालय, शिक्षक,पुस्तक, भौतिक संरचनाहरू सबैमा परिवर्तन गर्नु जरुरी भइसकेको छ । शिक्षकहरूलाई व्यवहारिक शिक्षाको तालिम, पुस्तकमा पढेको कुरा व्यवहारमा लागू गर्ने आदि। उदाहरणका लागि मैले एउटा दराज बनाउन लागेको छु भने त्यसको नाप, आकार केकस्ता सामाग्रीहरू चाहिन्छ आर्थिक लागत र समय कति लाग्छ आदि सम्पूर्ण कुराहरूको पुस्तकमा समेत ब्याख्या सहितको हुनु जरुरी छ। त्यस्तै विद्यालयको संरचनामा पनि कुन बिधाको शिक्षा लिने हो ? कस्तो व्यवहारिक अभ्यास गराउने हो सोही अनुसारको निर्माण हुनुपर्छ। जस्तै कृषिको लागि खाली जग्गा वा टनेला हुनुपर्छ । यसरी प्रणालीमा नै परिवर्तन र सुधार गरेर अघि बढ्ने हो भने हामी प्रमाण पत्र (सर्टिफिकेट) मात्रै बोक्ने हुन् थियौं,हामी आत्मनिर्भर र स्वावलम्बी बनेर समाज र देशको विकासमा अग्रसर हुने थियौं।
- लेखक मिडियाबाजी डटकमका विचारका लेखक हुन्।