सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान

  चैत २१, २०८१

 मिडियाबाजी डटकम काठमाडौँ, चैत्र २२ ।  सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान गरेका छन् । अन्तर व्यवस्थापिका संघको १५० औं वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन सभामुख घिमिरे नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उज्वेकिस्तानको राजधानी ताश्केन्ट प्रस्थान गरेका हुन् । सभामुख नेतृत्वको टोली शुक्रबार बिहान कतार एयरवेजको उडानमार्फत दोहा हुँदै उज्वेकिस्तान गएको हो ।

प्रतिनिधिमण्डलमा संघीय सांसदहरू श्याम कुमार घिमिरे, अञ्जान शाक्य, सूर्यमान दोङ तामाङ, सोबिता गौतम, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधि सभाका सचिव हर्कराज राई, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र संसद सचिवालयका उपसचिव राजु रिमाल रहेका छन् ।

अन्तर व्यवस्थापिका संघको १५०औं वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलन दुवै अन्तर्राष्ट्रिय सम्मेलन चैत्र २३ गतेदेखि २७ गतेसम्म ताश्केन्टमा हुँदैछ । अन्तर व्यवस्थापिका संघको सभामा सभामुख घिमिरेले ‘सामाजिक विकास र न्यायका लागि संसदीय कदमहरू’ विषयमा सम्बोधन गर्ने कार्यसूची छ । सांसद श्याम कुमार घिमिरे र सूर्यमान दोङ तामाङ अन्तरव्यवस्थापिका संघका स्थायी समितिको बैठकमा सहभागी हुनेछन् ।

सांसद अञ्जान शाक्यले महिला सांसदहरूको मञ्च र सांसद सोबिता गौतमले युवा सांसदहरूको मञ्चमा सहभागिता जनाउने छन् । साथै सांसद शाक्यले दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट उम्मेदवारी पनि प्रस्तुत गर्ने कार्यक्रम छ । सम्मेलनसँगै सञ्चालन हुने संसदका महासचिवहरूको बैठकहरूमा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय सहभागी हुनेछन् ।

तपाईंको प्रतिक्रिया

थप खबर