मिडियाबाजी डटकम काठमाडौँ , फागुण ३ । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अध्यादेशका बारेमा छलफल हुने गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ । संविधान संशोधनका लागि कार्यदल बनाउने, उक्त कार्यदलले प्रदेश र जिल्लामा अन्तक्र्रिया गर्ने लगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार पनि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । जसमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा संलग्न दुवै दलका नेताहरू बैठकमा सहभागी छन् ।
बैठकमा सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीव्रता दिनेलगायत समसामयिक विषयमा छलफल भएको थियो । यसअघि यसै साता दुईपटक संयन्त्रको कार्यदल बैठक सम्पन्न भइसकेको छ ।