सचिव मरासिनी आज पनि मन्त्रालय हाजीर भएका छैनन्

  श्रावण १६, २०७९

मिडियाबाजी डटकम १६ साउन, काठमाडौं । अर्थ सचिव मधुकुमार मरासिनी सोमबार पनि अर्थ मन्त्रालय हाजीर भएका छैनन् । आइतबार अर्थमन्त्री जनार्दन शर्माको स्वागतमा अनुपस्थित भएका मरासिनी विदामा रहेका वा कुनै कार्यक्रममा सहभागी रहेको भन्ने खुलेको छैन ।

शर्मा आइतबार अर्थमन्त्रीका रुपमा दोस्रो इनिङ सम्हाल्न अर्थमन्त्रालय पुग्दा राजस्व सचिव कृष्णहरि पुष्करले नै स्वागत गरेका थिए ।बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति संलग्न गराएको आरोपमा संसदीय छानबिन हुने भएपछि अर्थमन्त्रीले राजीनामा दिने दिनमा मरासिनी पारिवारिक समस्या देखाएर अनिश्चितकालका लागि विदामा बसेका थिए । शर्माले राजीनामा दिएको भोलिपल्टै सचिव मरासिनी बिदा सकेर मन्त्रालयमा हाजिर भएका थिए ।

मन्त्रीको अनुपस्थितिमा अर्थ मन्त्रालयमा नेतृत्व सम्हालेका मरासिनीले यतिन्जेल सक्रियतापूर्वक काम गरेका थिए । तर, आइतबार जनार्दन शर्मा अर्थमन्त्रीका रुपमा दोस्रो पटक नियुक्त हुने दिन भने उनी अनुपस्थित रहे ।स्रोतका अनुसार सचिव मरासिनी अहिले पोखरा पुगेका छन् । उनले निकट सहसचिहरुसँग एक विदेशी दाताको कार्यक्रम रहेको र पारिवारिक जमघट पनि रहेको बताएका छन् ।

मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौला सचिव मरासिनीको विदाबारे औपचारिक जानकारी मन्त्रालयमा नहुने बताउँछन् । ‘उहाँ कार्यक्रममा जानु भएको पनि हुनसक्छ, विदा लनु भएको भए प्रधानमन्त्री कार्यालयमा जानकारी हुन्छ,’ उनले भने,’आइतबारदेखि उहाँ मन्त्रालयमा उपस्थित हुनुहुन्न ।’

तपाईंको प्रतिक्रिया

थप खबर