सङ्कटमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउँछुः उपप्रधान तथा अर्थमन्त्री पौडेल

  पुष १२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १२ । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति कार्यालयमा सपथ ग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर उहाँले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि पौडेलले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै सङ्कटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन र व्यवस्थित गर्नका लागि आफूले काम गर्ने बताए ।

“अर्थतन्त्रका अहिलेका चुनौतीहरू के हुन् रु ती चुनौती सिर्जना हुनुको कारण के हो ? त्यसका राष्ट्रिय र अन्तर्राष्ट्रिय कारण के हुन् ? र तिनको समाधानका लागि के कदम चाल्नुपर्छ ? भन्ने विषयमा सबै क्षेत्रका विज्ञसँग सघन छलफल गर्नेछौँ”, उनले भने,, “अर्थतन्त्रका समस्या पहिचान गर्ने र त्यसको समाधान गर्ने आत्मविश्वासका साथ यो जिम्मेवारीमा आएको छु ।”

  अर्थतन्त्रलाई लयमा फर्काउन विगतका अनुभवबाट पाठ लिने तथा अर्थतन्त्रसँग जोडिएका सबै क्षेत्र र विज्ञहरूसँग राय सल्लाह लिएर अघि बढ्ने उनको भनाइ छ । त्यस्तै, नेपालको अर्थतन्त्र सम्हाल्नै नसकिने अवस्थामा पुगिनसकेको पनि उनले बताए । “अर्थतन्त्रका अघि देखा परेका चुनौतीहरू काबु बाहिर छैनन् । तिनलाई समाधान गर्न सकिन्छ । राष्ट्रिय अर्थतन्त्रलाई सबल ढङ्गले अघि बढाउन सकिन्छ भन्ने विश्वास पनि दिलाउन चाहन्छु”, पौडेलले भने । सार्वजनिक खर्चको दायरालाई कसरी कम गर्ने र पूँजीगत खर्च कसरी बढाउन सकिन्छ भन्नेतर्फ आफ्नो ध्यान केन्द्रीत हुने पनि उनको भनाइ छ ।

 दलहरूको भागबन्डामा परेर आफू अर्थमन्त्री बनेको नभई निर्वाचनपछि जनताले दिएको जिम्मेवारी पूरा गर्न आएको पनि उनको भनाइ छ । “हामी भागबण्डामा होइन कर्तव्य निर्वाहमा विश्वास गर्छौं । निर्वाचनको नतिजास्वरूप यो सरकार बनेको हो र मुलुकलाई नेतृत्व गर्ने अभिभाराअनुसार हामी आएका हौँ”, उपप्रधान एवं अर्थमन्त्री पौडेलले भने।

    जिम्मेवारी सम्हाले लगत्तै पौडेलले अर्थ मन्त्रालय र मातहतका निकायको कार्यसम्पादनलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्। उनले आफ्नो पहिलो निर्णयका रूपमा अर्थमन्त्रालय र अन्तर्गतका निकायको कार्यसञ्चालन व्यवस्थापन प्रणालीलाई डिजिटलाइजेसन गर्नेसम्बन्धी निर्णय गरेका हुन्। “अर्थमन्त्रालयअन्तर्गतका सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउनका लागि डिजिटल प्रणाली कार्यान्वयनमा गर्नेसम्बन्धी निर्णय भएको छ”, अर्थसचिव कृष्णहरी पुष्करले भने ।

पौडेलको उपप्रधानमन्त्रीका रूपमा दोस्रो र अर्थमन्त्रीका रूपमा यो तेस्रो कार्यकाल हो । पौडेलको स्थायी ठेगाना बुटवल उपमहानगरपाकिा ८, रुपन्देही रहेको छ भने हाल ललितपुरमा बस्दै आएका छन् । बाबु देवीलाल पौडेल र आमा रेवती पौडेलको छोराका रूपमा उनको जन्म २०१६ मङ्सिर १५ गते स्याङजा भएको थियो । उनको श्रीमती दोमाया पौडेल र एक छोरा र एक छोरी छन्। उनी रुपन्देही –२ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोओर्डिनेशन कमिटी ९माले० को सदस्य भएर २०३५ साल असोजमा राजनीतिमा प्रवेश गर्नुभएका उनले २०३५ मङ्सिरदेखि पूर्णकालीन सदस्य भएर काम गरेका थिए । विसं २०४१ मा नेकपा ९माले० को जिल्ला कमिटी सचिव, नेकपा ९एमाले० केन्द्रीय कमिटी सदस्य भएर २०४७ र २०५९ मा एमाले स्थायी कमिटी सदस्य भएर काम गर्नुभयो । उहाँले २०६५ सालमा एमाले सचिव, २०७१ सालमा नवौँ महाधिवेशनपछि एमाले उपमहासचिव तथा २०७५ सालमा नेकपाको महासचिवको जिम्मेवारी लिएर काम गर्नुभएको थियो ।

   उहाँले संविधान अभिलेख अध्ययन तथा निक्र्योल समिति सभापति २०७० काम गेका थिए । अर्थमन्त्री पौडेलले युवा खेलकुद तथा संस्कृतिमन्त्री २०५३, जलस्रोतमन्त्री २०६५, रक्षामन्त्री २०६०, अर्थमन्त्री २०७२ भएर काम गरेका थिए । राजनीतिमा प्रवेश गर्नुअघि उनी शिक्षक थिए। उनको अर्थ र विकासमा विशेष रुचि रहेको छ ।         उपप्रधान तथा अर्थमन्त्री पौडेलले राजनीतिक घटनाक्रमका क्रममा २०३५ देखि २०४६ सम्म भूमिगत जीवन बिताए। उनले २०३७ मा तीन वर्ष जेल र रु तीन हजार जरिवाना गरिएको थियो । उनले ४५ दिनमै जेल विद्रोह गरेका थिए ।       

एमालेका प्रभावशाली नेताका रूपमा परिचित उपप्रधानमन्त्री पौडेल चार दशकदेखि राजनीतिमा क्रियाशील छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर