मिडियाबाजी डटकम काठमाडौं,कार्तिक २८। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट आइतबार बाहिनी, गण तथा गुल्म कमान्डरहरूलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा पूरा गराउन प्रतिबद्ध भएर लाग्न निर्देशन दिएका छन् ।
महानिरीक्षक अर्यालले निर्वाचनका बखत कार्यक्षेत्रमा खटिँदा आइपर्ने जस्तोसुकै चुनौतीको सामना गर्न तयार भएर बस्नसमेत निर्देशन दिएका हुन् । भर्चुअल माध्यमबाट उनले देशभरका कमान्डलाई एकैसाथ निर्देशन दिएका हुन् । उनले निर्वाचनको दौरानमा बल प्रयोग गर्नुपरेमा बल प्रयोगको सिद्धान्तअनुसार सबै प्रकारका सावधानी अपनाएर मात्र गर्न निर्देशन दिएका छन् । कुनै पनि कमीकमजोरी भएमा स्वयं युनिट कमान्डर जवाफदेही हुनुपर्ने पनि उनले भनेका छन् ।सवारीसाधनको उचित प्रयोग, त्यसमा अपनाउनुपर्ने सावधानी र न्यूनतम स्रोतसाधनको अधिकतम प्रयोग गर्दै भोग, प्यास र थकानको परवाह नगरी २४ सैं घण्टा क्रियाशील रहन पनि उनले निर्देशन दिएका छन् ।
निर्देशनका क्रममा महानिरीक्षक अर्यालले भनेका छन्, ‘निर्वाचनका बेला हुने कुनै पनि सुरक्षा कमीकमजोरी क्षम्य हुनेछैन ।’फिल्डको वस्तुस्थिति बुझेर तत्काल चेनअफ कमान्डमा रिपोर्ट गर्नुका साथै मुख्यालयबाट खटिने निर्वाचन अनुगमन टोलीले समेत फिल्डमा देखिएका समस्यालाई तत्काल समाधान गर्न र मुख्यालयबाट गर्नुपर्ने समन्वय, सहयोग र समाधानमा कुनै कसर बाँकी नराख्न पनि उनले विभागीय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।