मिडियाबाजी डटकम काठमाडौँ ,वैशाख ३० । नेपाल आइडल विजेता रवि ओडले वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिएका छन् ।
जोशीकाअनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । नेपाल आइडल सिजन–२ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।