मिडियाबाजी डटकम काठमाडौं,मंसिर २६।राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम र तत्कालीन शाखा प्रमुख रघुपति चौधरीलाई विशेष अदालतले कैद सजाय हुने फैसला सुनाएको छ।
विशेषका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य खुशीप्रसाद थारुको इजलासले आइतबार यस्तो फैसला गरेको हो।उनीहरू दुवैलाई जरिवानासमेत तिराउने फैसला भएको विशेष अदालतले जनाएको छ। ‘उहाँहरू दुवैजनालाई ३/३ महिना कैद र जनही १० हजार रुपैयाँ जरिवाना तिराउने फैसला भएको छ,’ विशेषका उपरजिस्ट्रार नारदप्रसाद भट्टराईले भने। गौतम र चौधरीले योग्यता नपुगेका आवेदकहरूको दरखास्त फारमहरू ठीक छ भनी प्रतिवेदन दिएको आरोप थियो। बोर्डले २ असोज २०७२ मा गोरखापत्रमा सूचना प्रकाशित गर्दै विभिन्न पदमा दरखास्त आह्वान गरेको थियो। त्यसैअनुसार परेका आवेदनमा आवेदकहरूको शैक्षिक योग्यता नहेरेको, बदनियत राखी न्यून एवं अमिल्दो आवेदहरूको फारामसमेत स्वीकृत गरेको आरोप अख्तियारले लगाएको थियो।
बोर्डका निर्देशक गौतम पदपूर्ति उपसमितिका संयोजकसमेत थिए भने चौधरीले दरखास्त स्वीकृत गरेका थिए। जानीजानी गलत दरखास्त फारमलाई सही भनी गलत प्रतिवेदन दिएको भन्दै उनीहरूलाई भ्रष्टाचार निवारण ऐन २०१९ को दफा १९(२) बमोजिम तीन महिनादेखि एक वर्षसम्म कैद तथा १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना माग गर्दै मुद्दा दायर भएको थियाे। यस मुद्दामा प्रतिवादी बनाइएका दुईजनाले भने सफाइ पाएका छन्। यस मुद्दामा कृषि विकास अधिकृत गौरव लुइँटेल र लेखा अधिकृत टंकप्रसाद ओली पनि प्रतिवादी बनाइएका थिए। उनीहरूलाई पनि ऐनको दफा १९(२) बमोजिमकै सजाय मागदाबी गरिएको थियो।
- नयाँ पत्रिकाडेल्ली डटकमबाट