मिडियाबाजी डटकम वीरेन्द्रनगर — गत जेठ २१ गते कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको परीक्षामा आफ्नो नाम र फोन नम्बर लेख्ने २१ जना परीक्षार्थीलाई कारबाही गरिएको छ । आयोगको लिखित परीक्षा नतिजा शाखाले विज्ञापन नम्बर ५०३९५०६/०७८९७९ इञ्जिनियरिङ सेवा, सिभिल समूह, एकीकृत उपसमूह सहायकस्तर पाँचौं तह र सबइञ्जिनियर पदको लागि गत जेठ २१ गते परीक्षा सञ्चालन गरेको थियो ।
उक्त परीक्षामा रोल नम्बर ३३९० सोरु गाउँपालिका–१ मुगुका राजेन्द्र शाहीले उत्तर पुस्तिकामा मोबाइल नम्बर लेखेका छन् । आयोगद्वारा जारी विज्ञप्ति अनुसार अन्य २० जनाले भित्रि पृष्ठमा नाम र रोल नम्बर लेखेका हुन् ।शाहीलाई दुई वर्ष आयोगको कुनैपनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरेको आयोगले जनाएको छ । अन्य २० जनालाई एक वर्षसम्म आयोगले लिने कुनैपनि परीक्षामा सहभागी हुन नपाउने गरी निलम्बन गरिएको छ ।
आयोगले प्रदेश लोकसेवा आयोग ऐन ०७५ को दफा ६४ को १ ‘ख’ बमोजिम उनीहरुलाई कारबाही गर्ने निर्णय गरेको जनाएको छ ।