मिडियाबाजी डटकम काठमाण्डौं। भदौ १६ (बुधबार) ब्युरोको टोलीले ललितपुर महानगरपालिका–९ भोलाखेलबाट च्यासलका ३२ वर्षीय संजय कपाली र रामेछाप मन्थली नगरपालिका–१३ फुलासीका २७ वर्षीय कुमार तामाङलाई नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ३१ एम्पुल, डाइजेपाम ३१ एम्पुल र फेनारगन ३० एम्पुलसहित पक्राउ गर्यो ।
कुमार तामाङसमेतसँग नियन्त्रित लागूऔषध एम्पुल कारोबारमा संलग्न ललितपुर महानगरपालिका–१७ दुपाटका २९ वर्षीय अनिस महर्जनलाई लागुऔषध बुप्रेनोर्फिन ५६ एम्पुल, डाईजेपाम २५ एम्पुल र फेनारगन ७९ एम्पुल, नगद २२ हजार १ सय रुपैयाँ र लागुऔषध प्रयोगकर्ताले लागुऔषध एम्पुलका लागि धरौटी राखेको मोबाइल १७ थान, घडी ७ थान र गितार ४ थानसमेत बरामद गर्यो ।
सोही मोबाइल, घडी र गितार बरामद भएपछि लागूऔषध कारोबारको नयाँशैली पत्ता लागेको ब्युरो प्रमुख एसएसपी विकासराज खनालले बताए ।‘अभिभावक सचेत हुनुपर्ने बेला आएको छ, कतै हाम्रा सन्तान पनि मोबाइल, घडी, गितार धरौटीमा राखेर लागूऔषध दुव्र्यसनीमा फसेका त छैनन्,’ उनले भने,‘लागूऔषध कारोबारीले नगद नहुनेहरुसँग सामान धरौटीमा राखेर लागूऔषध वितरण गरेको पाइएको छ ।’
प्रहरीले अनिस महर्जनलाई लागूऔषध एम्पुल बिक्री गर्ने सप्तरी डाक्नेश्वरी नगरपालिका–७ घर भई ललितपुर महालक्ष्मी बस्ने २७ वर्षीय धरमदेव रामलाई पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ । धरौटीमा लागूऔषध सेवन गर्नेहरुको अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।त्यस्तै, ब्युरोले ४० दशमलव ५ ग्राम लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका–१८ भैंसेपाटीका ३३ वर्षीय प्रताप कार्की, पाँचथर फिदिम नगरपालिका–१ का २४ वर्षीय भुवन विक र २५ वर्षीय देङ्ग हाङ्ग नेम्वाङ छन् ।
ब्युरोका प्रवक्ता एसपी योगेन्द्रकुमार खड्काका अनुसार बिहीबार कार्की ७ दशमलव ५ ग्राम खैरो हेरोइनसहित पक्राउ परे । अनुसन्धानका क्रममा कार्कीलाई लागूऔषध खैरो हेरोइन बिक्री गर्ने (११९ दशमलव ५ ग्राम खैरो हेरोइन) मुद्दामा फरार रहेका विक र नेम्वाङ ३३ ग्राम खैरो हेरोइनसहित अनामनगरबाट पक्राउ परेको खड्काले बताए ।ब्युरोको ५ दिनको अप्रेसनमा अर्को थप २४७ ग्राम खैरो हेरोइन, डिजिटल तराजु ३ थानसहित ५ जना पक्राउ परेको जनाएको छ ।
बिहीबार काठमाडौं गोकर्णेश्वर नगरपालिका–९ माकलबारीस्थित काठमाडौं महानगर–६ का २५ वर्षीय उत्सव घिमिरे र भोजपुर ट्याम्केमैयुङ गाउँपालिका–९ का ४१ वर्षीय दोर्ची शेर्पालाई लागुऔषध खैरो हेरोइन ७ ग्रामसहित पक्राउ परे । अनुसन्धानका क्रममा खैरो हेरोइन कारोबारमा संलग्न भोजपुर पौवाढुङा गाउँपालिका– १ की ३२ वर्षीया फुर्लामी शेर्पालाई २४० ग्राम खैरो हेरोइन र डिजिटल तराजु १ थान सहित शुक्रबार सुकेधाराबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।दोर्ची शेर्पा र फुर्लामी शेर्पाको साथबाट बरामद भएको लागूऔषध खैरो हेरोईन बिक्री गर्ने झापा मेचीनगर नगरपालिका–१५ की ३० वर्षीया अप्सरा खातुन भन्ने अप्सरा राजवंशी र राजवंशीलाई खैरो हेरोईन कारोबारमा सहयोग गर्ने ४४ वर्षीय नौसाद आलमलाई आइतबार झापा मेचीनगर नगरपालिका–१५ बाटै डिजिटल तराजु थान २ र १० लाख ४० हजार रुपैयाँसहित पक्राउ गरेको प्रवक्ता एसपी खड्काले बताए ।
त्यसैगरी, ब्युरोले अमेरिकाबाट ल्याएको २ केजी लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । सोमबार गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा अमेरिकाबाट आएको लागूऔषध गाँजा लुकाएको पार्सल बुझेर लैजाने क्रममा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–७ का २८ वर्षीय मनोज राईलाई २ केजी गाँजासहित पक्राउ गरेको हो ।
गाँजा लुकाइएको पार्सल रिसिभ गर्नका लागि राईलाई मिलाइदिने काठमाडौं नक्सालका ३० वर्षीय अंकितकुमार श्रेष्ठ र दुवैलाई ३० हजार रुपैयाँ दिने सर्तमा गोश्वारा हुलाक डिल्लीबजारमा पार्सल रिसिभ गर्न पठाउने खुसिबुका ३० वर्षीय राहुल क्षेत्रीलाई नक्सालबाट पक्राउ गरेको ब्यूरोले जनाएको छ । उनीहरु विरुद्ध लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको प्रवक्रा एसपी खड्काले बताए ।