राजतन्त्रले तिरो लिने र  मोजमस्ती गर्ने बाहेक केही जानेको थिएन : प्रधानमन्त्री

  चैत २८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र २९ ।  प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरु असफल भएको जनाउँदै समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने बताएका छन् ।

नेकपा (एमाले) रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेले लिएको समृद्धि र विकासको यात्राबाट तर्सिएर देशी–विदेशी प्रतिक्रियावादी स्वार्थी तत्वहरुले एमालेलाई विभाजनको कोशिस गर्नेहरु असफल भएको टिप्पणी गर्दै भने, ‘एमालेलाई सिध्याउँछु, केपी ओली विनाको एमाले बनाउँछु भन्नेहरु सफल हुँदैनन् । म धेरै बाँच्ने होइन, त्यसपछि पनि मभन्दा बलवान नेताहरु पार्टीमा आउने छन् । यस देशको विकासको भाग्यरेखा हामी आफै कोर्छाै । मान्छेको घरमा आगो लगाएर र पसलबाट चोरेर भाग्नेहरुले क्रान्ति र परिवर्तनका लागि केही गर्न सक्दैनन् ।’

राजतन्त्र र पञ्चायतकालमा मुलुकमा कुशासन र अव्यवस्था भएकाले जनताको बलिदानीपूर्ण संघर्षबाट ल्याइएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन अहिलेको सरकारले आफ्ना सबै प्रयास गरिरहेको बताए । उनले विगतमा आफ्ना कुशासन र निरंकुशताको राज सम्झिएर प्रतिगामी तत्वहरुले यस व्यवस्थालाई बदनाम गर्न अराजकता र अफबाह फैल्याउन खोजे पनि त्यसबाट कुर्न विचलित नभई समृद्धि र सुसाशनको अहिलेको यात्रामा योगदान दिन सबैमा आग्रह गरे ।

प्रधानमन्त्री ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरेका छन् । ‘राजतन्त्रले तिरो लिने र त्यसको दुरुपयोग गरेर मोज मस्ती गर्ने बाहेक केही जानेको थिएन । त्यसैले हामीले संघर्ष गर्नुपर्‍यो, बलिदान दिनुपर्‍यो, अनेक खाले दुःखहरू बेहोर्नुपर्‍यो । २५० वर्षको राजतन्त्रमा के भएको थियो, राजाहरूले बताई दिऊन्,’ उनले भने, ‘दुनियाँका अगाडि बडा थियौ, अरु के गर्‍यौ ?’

सामन्ती शासन गर्ने र जनतालाई पढ्न तथा काम सिक्न नदिने राजतन्त्रको प्रवृत्तिले देशले दुःख पाएको उनले बताए । ‘दुनियाँ त त्यसबेलै विकसित भएको थियो त, अमेरिका, बेलायत, फ्रान्स, जर्मनहरू विकसित भएका थिए । अरु देश त विकसित भएका थिए । हिरोसिमा र नागासाकी जस्ता सहरहरू ध्वस्त भएर बचेको जापानले यसबीचमै विकास गर्‍यो । कोरिया १९६० सम्म हामीभन्दा पछाडि थियो । त्यसपछि विकास गर्दै गएर अहिले उसको र हाम्रो प्रतिव्यक्ति हेर्‍यो भने त्यो तुलना नै गर्न मिल्दैन। तर, हाम्रोमा राजतन्त्रले केही गर्न दिएन,’ उलने भने ।

उनले कुशासन, अव्यवस्था र शासकीय कूटनीतिका कारणले नेपाल पछि परेको पनि बताए । ‘कपिलमुनि, बुद्ध, महर्षिहरूको थलो यति उर्वर जहाँ पनि झार उम्रिन्छ, के उम्रिन्छ, किटपतङ्ग उम्रन्छन्। जीवनमय थलो हो । प्राकृतिक रूपमा उर्वर जीवनमय थलो तर, पछाडि पर्‍यो । यस्तै कुशासन, अव्यवस्था थिए,’ उनले भने ।

तपाईंको प्रतिक्रिया

थप खबर