मिडियाबाजी डटकम काठमाडौँ । पूर्वगृहमन्त्री रवि लामिछानेले पुन: नेपाली नागरिकता लिएका छन् । उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर कानुनबमोजिम नागरिकता पुनः प्राप्ति गरेका हुन् । ‘उहाँले नागरिकताको नियमवलीको नियम ११ अनुसार आवश्यक प्रक्रिया पुरा गरेर नागरिता पुनप्राप्त गर्नु भएको छ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भने ।
लामिछानेले २०५० सालमै वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । प्रशासनले पुनः प्राप्तिको प्रक्रिया पूरा गरी पुरानै विवरण र जारी मिति रहेको नागरिकता लामिछानेलाई दिएको हो । यसअघि नेपालमा नागरिकता लिए पनि अमेरिका गएपछि उतैको नागरिकता लिएर बसेका लामिछाने गैरपर्यटक (नाता) भिसामा नेपाल आएका थिए । त्यसपछि उनी यतै बसे । ०७५ सालमा अमेरिकी नागरिकता त्याग्ने प्रयोजनका लागि नेपालस्थित अमेरिकी दूतावासलाई सूचना दिएका उनले ०७५ असार १४ गते अमेरिकी नागरिकता त्यागेको जानकारी गराएका थिए ।
तर‚ नेपाली नागरिकताको पुनः प्राप्तिको प्रक्रिया पूरा गरेका थिएनन् । कानुनबमोजिम त्यसबेला नै अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनः प्राप्ति गर्नुपर्नेमा लामिछानेले त्यो प्रक्रिया पूरा नगरी पुरानो नागरिकता प्रयोग गर्दै आएका थिए ।त्यही नागरिकता प्रयोग गरेर उनले गत असारमा राष्ट्रिय स्वतन्त्र पार्टी खोलेका थिए भने चितवन–२ बाट चुनाव जितेर सांसद र गृहमन्त्रीसमेत बनेका थिए । तर, उनको नागरिकताको विषयमा सर्वोच्च अदालतमा रिट परेपछि अदालतले लामिछानेले अमेरिकाबाट फर्किएपछि नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै उनी पदमुक्त हुने फैसला गरेको थियो ।
फैसलापछि लामिछानेको गृहमन्त्री, सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमेको थियो । सर्वोच्चको फैसपापछि लामिछानेले आइतबारै जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकता पुनः प्राप्ति गरेका हुन् । अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट हालेका थिए ।
सो रिटमाथि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको थियो । नेपालको नागरिकता ऐन, २०६३ को दफा १० मा आफूखुसी विदेशी नागरिकता लिएमा अथवा एकैसाथ नेपाली र विदेशी मुलुकको नागरिक हुने अवस्थामा नेपाली नागरिकता नरोजेमा नेपाली नागरिकता कायम नरहने प्रष्ट कानुनी व्यवस्था छ।