मिडियाबाजी डटकम काठमाडौँ कार्तिक १५ । नेपाल विद्युत प्राधिकरणले ट्रङ्क र डेडिकेटेड लाइनको सुविधा लिएर पनि महसुल नतिरेका उद्योगलाई ५६ किस्तामा रकम बुझाउने सुविधा दिएको छ ।
प्राधिकरणको सञ्चालक समितिको बैठकले २८ पटकको किस्ताबन्दी सुविधालाई बढाएर ५६ किस्ता पुर्याएको छ । हिजोको बैठकले उद्योगीले पहिलो किस्ता तिर्छु भनेर निवेदन दिने र पहिलो किस्ताको रकम दिएपछि तत्काल लाइन जोड्ने निर्णय गरेको हो ।
हिजो नै विद्युत् नियमन आयोगले पनि बाँकी रहेको बक्यौता तिर्न थालेपछि मात्रै उद्योगमा काटिएको बिजुलीको लाइन जोड्न प्राधिकरणलाई निर्देशन दिएको थियो । हिजोको प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगीलाई अदालत जान पनि सहजीकरण गर्ने निर्णय गरेको छ । अहिले कुल बक्यौताको २५ प्रतिशत राखेर प्राधिकरणको पुनरावलोकन समितिमा जानुपर्ने अवस्था रहेकोमा अब पाँच प्रतिशत मात्रै बैंक ग्यारेन्टी तथा नगद राखेर पुनरावलोकन समितिमा जान सक्ने व्यवस्था भएको छ ।