मधेस प्रदेशका सांसद र पदाधिकारीले कति पाउँछन् तलब–भत्ता ?

  पुष १७, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १७।  मधेस प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्। १०७ जना प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशमा प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेबाट १०४ जना सांसदले पद तथा गोपनीयताको शपथ लिएसँगै उनीहरूको कार्यकाल सुरु भएको हो । मधेस प्रदेशसभामा प्रतिनिधित्व गरेका दलले संसदीय दलका नेतालगायत पदाधिकारी चयन गर्ने प्रक्रियामा हुँदा उनीहरूको तलब–भत्ताबारे धेरैको चासो बढेको छ ।

प्रदेशसभाका पदाधिकारी र सांसदले पारिश्रमिकबाहेक बैठकभत्ता, सञ्चार सुविधा, आवास सुविधा, फर्निचर, निजी सचिवालयको बन्दोवस्त, सवारी इन्धन, बिजुली, दैनिक भ्रमण भत्तालगायत सेवा–सुविधा पाउनेछन् । प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको कानुनअनुसार मधेस प्रदेशका सभामुखले प्रतिमहिना ६१ हजार, उपसभामुख, विपक्षी दलको नेता, सत्तापक्षको सचेतकले ५९ हजार ७८०, दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक, विपक्षी दलको प्रमुख सचेतक र सभापतिले ५८ हजार ४९०, दलका प्रमुख सचेतक र सचेतकले ५५ हजार र सदस्यहरूले ५४ हजार ६ सय रुपैयाँ तलब पाउनेछन् । यस्तै, बैठक भत्ता बापत सभामुख, उपसभामुख, दलका नेतालगायत सदस्यले प्रतिदिन १ हजारका दरले पाउनेछन् ।

यस्तै, सञ्चार सुविधाबापत सभामुखले प्रतिमहिना ३ हजार ५ सय, उपसभामुख, विपक्षी दलका नेता, सत्तापक्षको सचेतकले ३ हजार ४ सय, दलको नेता, सत्तापक्षको प्रमुख सचेतक, विपक्षी दलको प्रमुख सचेतक र सभापतिले ३ हजार ३ सय दलका प्रमुख सचेतक र सचेतकले ३ हजार २ सय र सदस्यहरूले ३ हजार पाउनेछन् । यस्तै, आवासबापत सदस्यहरूले प्रतिमहिना १५ हजार, पाँच वर्षको फर्निचरका लागि एकमुष्ट ५० हजार, निजी सचिवालयको बन्दोबस्तका लागि प्रतिमहिना २ हजार, बिजुली धाराबापत प्रतिमहिना २ हजार, दैनिक भ्रमण–भत्ता प्रतिदिन २ हजार ५ सय, विदेश भ्रमण गर्दा प्रतिदिन २ सय डलर पाउने व्यवस्था छ । यो समाचार देश सञ्चारमा छ ।

तपाईंको प्रतिक्रिया

थप खबर