मिडियाबाजी डटकम काठमाडौं — बैतडीमा शिक्षक हत्याको अभियोगमा श्रीमान्-श्रीमती पक्राउ परेका छन् । जिल्लाको सुर्नया गाउँपालिका-२ ग्वानी घर भई कृष्ण माध्यमिक विद्यालय पाटनमा पढाउँदै आएका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्लाको पुर्चौँडी नगरपालकिा ३ न्वादेउ घर भएका प्रजा बोहरा र बमिला बोहरालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । बमिला बोहरा कृष्ण मावि पाटनको छात्राबासमा बस्दै आएकी थिइन् ।
उनी कृष्ण माविमा कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययनरत छात्रा हुन् । पुस १ गते रात शिक्षक विष्टले बमिला बोहरामाथि अभद्र व्यवहार गरेको र त्यसको झोँकमा उनका श्रीमान् प्रजा बोहराले शिक्षक विष्टलाई मुक्का हानेर ढलाएको प्रहरीको अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले पत्रकार सम्मेलन गर्दै भने, ‘पुस १ गते साँझको समयमा बमिला बोहरा शौचालय जान्छु भनी बाहिर नस्किइन् ।
ढिलो गरेपछि उनका श्रीमान्ले खोजी गर्दा शिक्षक विष्टले अँगालो हालेको देखेपछि उनका श्रीमान् प्रजा बोहराले शिक्षक विष्टलाई मुक्का हानेर ढलाए । छात्रबासमै हत्या गरेपछि घटना लुकाउनका लागि विष्टको शवलाई छात्रवासको पछाडि दुवै जना मिलेर फालेको प्रहरीको अनुसन्धानले देखाएको छ । घटनाबारे अभियुक्तमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शाहीले बताए । त्यसपछि प्रजाले उनको छाती र मुखमा हानेर हत्या गरे ।’