बिपद्का घटनाहरु बढ्यो : बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म १९३ को मृत्यु

  भदौ ०५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , भाद्र ५ ।  अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ९३ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ३४, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ गरी एक सय ९३ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार काठमाडौं उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेस प्रदेशमा १२, बागमती प्रदेशमा २४, गण्डकी प्रदेशमा ४७, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ गरी दुई सय ४१ जना घाइते भएका छन् ।

बाढी, पहिरोका कारण काठमाडौं उपत्यकामा २८, कोशी प्रदेशमा ४९, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चििम प्रदेशमा पाँच गरी एक सय १४ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए ।

उनले भने, ‘बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४९ जना वेपत्ता भएका छन् ।’

बाढीको कारण आज दिउँसोसम्म जम्मा तीन सय ८४ घर डुबानमा परेका छन् । बाढी पहिरोले तीन सय ३३ वटा घर, एक सय १६ वटा गोठ, ५१ वटा पुल, चार वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

विपद्मा परी आठ सय ७० वटा पशु चौपाय मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार आठ सय ४२ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर