मिडियाबाजी डटकम काठमाडौँ, जेठ १० । सगरमाथा आरोहणका क्रममा केन्याका एक ४० वर्षीय नागरिकको मृत्यु भएको छ । जेठ ९ गते राति साढे १० बजे ८,८३० मिटरमा केन्याका जोसु चेरुइयुत किरुई मृत फेला परेको पर्यटन विभागले जनाएको छ ।
उनीसँगै रहेका नेपाली माउन्टेन गाइड लिखु पिके गाउँपालिकाका ४४ वर्षीय ङवाङ शेर्पा सम्पर्कविहीन छन् । उनले ५ गते आधार शिविरबाट आरोहण सुरु गरेका थिए । जेठ ९ गते चौथो शिविर हुँदै सगरमाथा चुचुरोतर्फ लागेका थिए ।
आरोही र गाइड चुचुरो नजिकै पुगे पनि आरोहण सम्पन्न गरे÷नगरेको एकीन नभएको विभागले जनाएको छ । बुधबार दिउँसो २ बजेसम्म पनि रेडियो सम्पर्कमा नआएकाले सेभेन समिटले ४ माउन्टेन गाइड परिचालन गरी क्याम्प २ भन्दा माथि सर्च एन्ड रेस्क्यु टिम परिचालन गरेको थियो । शेर्पाको अवस्था भने अज्ञात रहेको र खोज तथा उद्धार जारी रहेको विभागले जनाएको छ ।