बाह्र पटक म्याद थप्दा पनि सम्पन्न भएन आयोजना, नयाँ ठेकेदारको खोजी

  माघ १२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १२ । तीन नगरपालिका समेटिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको बाह्रवर्ष बितिसकेको छ । सम्झौताको तीन वर्षमा आयोजना सम्पन्न गर्ने जनाइए पनि ठेकेदार कम्पनीलाई १२ पटकसम्म म्याद थप्दा पनि अझै काम सम्पन्न हुनसकेको छैन । चिनियाँ ठेकेदार कम्पनी निम्बो निङ्सिङ इन्टरनेशनल इङ्क नामक ठेकेदार कम्पनीलाई १२औँ पटक म्याद थप्दा पनि आलटाल गरिदिइएको समयमा काम नसकेपछि आयोजनाले नयाँ ठेकेदार कम्पनीको खोजी गर्ने भएको हो ।

इङ्कले सन् २०२० देखि बाँकी काम नगरको आयोजनाले जनाएको छ । “अब इङ्कले काम नगरेपछि नयाँ ठेकेदार कम्पनीको खोजी गरिने निर्णय भएको छ, यसका लागि तीन नगरको बैठकले तय गर्नेछ”, आयोजनाका सूचना अधिकारी रामसुन्दर वादेले भने । उनका अनुसार नयाँ ठेकेदार कम्पनीको खोजीबारे तीन नगरका जनप्रतिनिधिको बैठक छिट्टै बस्ने तयारी भइरहेको छ । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत सकिएको जनाउँदै आइएको छ । आयोजना सम्पन्न नहुँदा तीन नगरका करिब ९३ हजारले खानेपानी पाउन नसकेका हुन् । गत वर्षको चैतसम्ममा काभ्रेपलाञ्चोकका तीन पूराना नगर बनेपा, धुलिखेल र पनौती नगरको स्थानीयवासीका घरघरमा २४ सै घण्टा स्वच्छ खानेपानी खानेपानी पु¥याउने जनाइएको थियो ।

परीक्षणका विविध प्राविधिक समस्या दर्शाउँदै आयोजनाको खानेपानी वितरणकार्य लम्ब्याइएको हो । नयाँ कम्पनी छनोट गरिएपछि चार महिनाको अवधिमा आयोजना सम्पन्न हुने जनाइएको छ । बनेपा, धुलिखेल र पनौती नगरका करिब ९३ हजार नागरिकलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले करिब बाह्र वर्षअघि नेपाल सरकार र एशियाली विकास बैंक एडिबी बीच ऋण सम्झौता गरी आयोजनाको प्रक्रिया सुरु गरिएको थियो । सन् २०१० अक्टोवर २६ मा सम्झौता गरिएको खानेपानी आयोजना करिब रु एक अर्बमा सम्पन्न हुने जनाइएको थियो ।

हाल खानेपानी वितरणकार्यमा अन्योलता देखिएपछि तीनै नगरका प्रमुखले आयोजनाप्रति चासो देखाएका हुन्। नगरप्रमुखले खानेपानी संस्थानको वितरण प्रणालीमा मेनलाइनबाट पानी मिसाइ परीक्षण गराउनुका साथै पनौती–खोपासी सडक, पनौती–बनेपा सडकको दायाँबायाँका वितरण प्रणालीका बिग्रेका पाइप फेर्दै प्रणालीले समेटेका बस्तीमा खानेपानी वितरणको प्रक्रिया थाल्न लगाएका छन्।

तपाईंको प्रतिक्रिया

थप खबर