मिडियाबाजी डटकम काठमाडौँ , भाद्र ९ । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको सवारी दुर्घटनामा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष यादवको मोटरसाइकल दुर्घटनामा आज बिहान मृत्यु भएको हो ।
जलेश्वर–बर्दिबास सडकअन्तर्गत बर्दिबास नगरपालिका–८ स्थित कल्भर्टमा वडाध्यक्ष यादव चढेको लु प्र ०१–००१प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । वडाध्यक्ष यादवको शव कल्भर्टसँगै भेटिएको हो । वडाध्यक्ष यादव नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित भएका थिए । सडकको कल्भर्ट नजिक आज बिहान वडाध्यक्ष यादव मृत फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल जयसवालले जानकारी दिए । उनका अनुसार घटनास्थल नजिकै मोटरसाइकल पनि भेटिएको छ ।
घटनास्थल बर्दिबास नगरपालिका–८ मा पर्छ । वडाध्यक्ष यादवको शव भेटिएपछि अहिले बर्दिबास–जलेश्वर सडक अबरुद्ध बनेको छ । स्थानीयको भीड लागेको छ । डिएसपी जयसवाल नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका छन् । घटना शंकास्पद रहेको प्रत्यक्षदर्शीहरू बताउँछन् । डिएसपी जयसवाल भन्छन्, ‘अहिले तत्काल केहि भन्न सक्दिनँ । हामी अनुसन्धान गरिरहेका छौं ।’