फसेका यात्रुको उद्धारपछि दुई घण्टापछि चल्यो चन्द्रागिरि केवलकार

  श्रावण ०२, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, साउन २ ।   विद्युत् अवरूद्ध भएपछि रोकिएको चन्द्रागिरि केवलकार करिब दुई घण्टापछि सञ्चालनमा आएको छ । विद्युत् अवरुद्ध हुँदा केवलकारका ८ वटा डब्बामा करिब ७५ जना यात्रु दिउँसो साढे १ बजेदेखि अड्किएका थिए । महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार केवलकारमा अड्किएकालाई झार्न कम्पनीले जेनेरेटर चलाउन खोजिएको थियो । तर कम्पनीले जेनेरेटर पनि चलाउन नसकेपछि प्रहरीको सहयोगमा हातैले केवलकारका डोरी तानेर तत्लो स्टेशनमा झारिएको हो ।

समयमा जेनेरेटर चलाउन नसकिएपछि केवलकारको डिब्बामा अड्किएका यात्रुलाई झार्न थानकोट बृत्तको प्रहरी पनि पुगेको थियो । यात्रुको उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली चन्द्रागिरि गएको थियो ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले सशस्त्रको टोली समेत गएर केवलकारमा अड्किएका यात्रुलाई लठ्ठा तानेर झार्न सघाएको बताए । जेनेरेटर पनि नचलेपछि कम्पनीले प्रहरीको सहयोग लिएर केवलकारका रोप्वेलाई हातैले तानेर झारेपछि ८ वटा डब्बामा अड्किएका यात्रु सकुशल तल्लो स्टेशन झरेका छन् । ८ वटा डब्बामा अड्किएका सबै यात्रुलाई बुधबार दिउँसो पौने ४ बजे सकुशल झारिएको हो । त्यसपछि केवलकार सञ्चालनमा आएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर