मिडियाबाजी डटकम काठमाडौँ, फागुन २१ । सरकारले जारी गरेको ६ मध्ये पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । आज (बुधबार) को प्रतिनिधिसभाको बैठकले पाँच अध्यादेश स्वीकृत गरेको हो । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
बैठकले उक्त प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो । बैठकमा सांसद चन्दा कार्कीले १२ जना सांसदको तर्फबाट उक्त अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गरेकी थिइन् । बैठकले उक्त प्रस्तावलाई समेत बहुमतले अस्वीकार गरेको छ । उक्त अध्यादेशका विषयमा विरोधको सूचनाका क्रममा आएका जिज्ञासाको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अधिकारीले सहकारी क्षेत्रलाई व्यवस्थित गर्न अध्यादेश ल्याएको भन्दै प्रतिपक्षीमा रहँदैमा विरोधका लागि विरोध नगर्न आग्रह गरे ।
त्यस्तै निजीकरण (पहिलो संशोधन) अध्यादेश र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निजीकरण (पहिलो संशोधन) अध्यादेश र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
उक्त प्रस्तावलाई सभाले बहुमतबाट स्वीकृत गरेको हो। त्यसअघि निजीकरणसम्बन्धी अध्यादेशमा सांसद माधव सापकोटाले राखेको अस्वीकार सम्बन्धी सूचना र आर्थिक तथा व्यावसायिक वातावरण सुधारसम्बन्धी अध्यादेशमा सांसद रणेन्द्र बरालीले राखेको अस्वीकार सम्बन्धी सूचना अस्वीकृत भएको थियो ।