नेपाल टी-२० : विराटनगरलाई हराएर लुम्बिनी प्ले अफमा

  पुष १७, २०७९

काठमाडौँ – लुम्बिनी अल स्टार्सले नेपाल टी–२० को शीर्ष स्थानमा आइतबार आफ्नो पकड अझ बलियो बनाएको छ । उसले प्ले अफको यात्रा पनि तय गरेको छ । लुम्बिनीले टीयू मैदानमा भएको खेलमा विराटनगर सुपर किंग्सलाई १२ रनले पराजित गर्‍यो । यस जितका नायक कप्तान दीपेन्द्र सिंह ऐरी रहे । अर्धशतक बनाएका उनी नै ‘प्लेयर अफ द म्याच’ रहे ।

यो जितपछि लुम्बिनीको ७ खेलबाट १२ अंक भएको छ । उसको पछाडि जनकपुर रहेको छ र उसको ८ अंक रहेको छ । विराटनगर भने ४ अंकमै सीमित रहेर पुछारबाट दोस्रो स्थानमा छ । जितका लागि १ सय २३ रन पछ्याएको विराटनगर १९.३ ओभरमा १ सय १० रन बनाएर अलआउट भयो । एक समय जिततर्फ अग्रसर देखिएको विराटनगरले अन्तिम ४ विकेट ४ रनमा गुमाएको थियो ।

विराटनगरका लागि अर्जुन साउदले ४१ रन बनाए । उनले पहिलो विकेटका लागि गौरन्सु शर्मासँग ४१ रनको साझेदारी गरेका थिए । त्यसयता उसले नियमित अन्तरमा विकेट गुमाएको थियो । त्यस अगाडि पहिले ब्याटिङ गरेको लुम्बिनीले ९ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो । त्यसमा दीपेन्द्र एक्लैले ४२ बलमा ५० रन बनाए । उनी नटआउट रहे र उनले ६ चौका प्रहार गरे ।

तपाईंको प्रतिक्रिया

थप खबर