मिडियाबाजी डटकम काठमाडौँ , माघ २९ । नाबालिगलाई घरेलु कामदार बनाएको आरोप लागेकी एमाले सांसद रेखाकुमारी शर्माविरूद्ध सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले लुम्बिनी प्रदेशकी सांसद शर्मालाई मुद्दा नचलाउने निर्णय गरेको हो ।
माघ १८ गते जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवालले मुद्दा नचल्ने निर्णय गरेका हुन् । सोही आधारमा २० गते उच्च सरकारी वकिल कार्यालय पाटनलाई समेत पत्राचार गरेको थियो । उक्त विषयमा सूचना माग गर्ने क्रममा यस्तो जानकारी गराएको हो ।
अब यसको अन्तिम निर्णय महान्यायाधिवक्ताको कार्यालयबाट हुने जानकारी समेत सरकारी वकिलको कार्यालयबाट गराइएको हो ।
लुम्बिनी प्रदेश सभामा दाङबाट निर्वाचित सांसद शर्माले १४ वर्षीया बालिकालाई ८ वर्षदेखि घरेलु कामदारका रूपमा राख्दै आएको पाइएको थियो । आफूलाई श्रम शोषण गरेको, कुटपिट गरेको भन्दै पीडित बालिकाले काठमाडौँ महानगरमा सम्पर्क गरेकी थिइन् । सोही आधारमा महानगरसहित सरोकारवालाको टोलीले बालिकाको बालुवाटारस्थित शर्माकै घरबाट उद्धार गरेको थियो ।
परिवारलाई पढाइदिने भन्दै काठमाडौँ ल्याएकी शर्माले बालिकालाई विद्यालयमा भर्ना गरे पनि घरेलु काममा लगाउने, पाइप रडले कुट्ने लगायतका यातना दिने गरेको भन्दै बालिकाको आरोप थियो । बालिकालाई सेफ हाउसमा राखेर सांसद शर्माविरूद्ध गत जेठ ३० गते बालिकामाथि श्रम शोषण तथा दुर्व्यवहार भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी परेको थियो ।