मिडियाबाजी डटकम काठमाडौँ , असोज ४ । नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडक निर्माणलाई गति दिन छ बुँदे सहमति भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा उक्त सहमति भएको हो । आयोजनामा देखिएका विभिन्न समस्या समाधान गरी निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्वद्ध पक्ष सहमत भएका हुन् ।
मन्त्री देवेन्द्र दाहालको अगुवाइमा भएको छलफलमा उक्त सडक क्षेत्रका सरोकारवाला रहेका कृषि तथा पशुपंक्षीमन्त्री रामनाथ अधिकारी, प्रतिनिधिसभा सदस्य राजेन्द्र पाण्डे, बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जमरकट्टेल, प्रदेश सरकारका मन्त्री मधुकुमार श्रेष्ठलगायत विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । निर्माण कम्पनीका प्रतिनिधि, कन्सल्ट्यान्टलगायतको छलफलले सडक निर्माणमा देखिएका समस्या समाधान गरी निर्माणलाई गति दिने सहमति भएको हो ।