धरानमा जेबी टुहुरे श्रष्टा सम्मान सन्ध्या कार्यक्रम हुने

  भदौ ०८, २०७९

मिडियाबाजी डटकम काठमाडौं,भाद्र ८। वरिष्ठ जनगायक जेबी टुहुरेको सम्मान र सम्झनामा यही भदौ १० गते (शुक्रबार) धरानमा जेबी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान कार्यक्रम आयोजना हुने भएको छ ।तत्कालीन संविधानसभा सदस्य समेत रहेका जुठबहादुर खड्गी (जेबी टुहुरे)को गत वर्ष भदौ १० गते काठमाडौंको वयोधा अस्पतालमा निधन भएको थियो ।

वि.सं.२००१ सालमा धरानमा जन्मिएका टुहुरेको प्रथम स्मृति दिवस धरानमै मनाउन लागिएको आयोजक जेबी टुहुरे फाउन्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले जानकारी दिइन् ।कार्यक्रममा एकजना वरिष्ठ गायकलाई रु १ लाख राशीको ‘जेबी टुहुरे श्रष्टा सम्मान–२०७९’ बाट सम्मान समेत गरिने आयोजक जेबी टुहुरे फाउन्डेसनले जनाएको छ ।

भानु चोकको खुला ठाउँमा आयोजना गरिने कार्यक्रममा टुहुरेको सम्झना र योगदानलाई नयाँ पुस्ता माझ पुर्याउने उद्देश्यले ख्यातिप्राप्त गायकहरूले टुहुरेकै आवाजका विभिन्न गीत गाउनेछन् ।कार्यक्रममा वरिष्ठ गायक शम्भु राई, नन्दकृष्ण जोशी, जीवन शर्मा, दीप श्रेष्ठ, शम्भु राई, भीषण मुकारुङ, चेतन सापकोटा, बाबु बोगटी, प्राश्ना शाक्य, हर्सु राई, रुपकचन्द्र डोटेल, सविन लिम्बु, आकाश थापा, साजन राई, दुर्गा परियार, सञ्जय तुम्रोक, प्रशान्त शर्मा, प्रदेश लिम्बु, जितेन्द्र चौधरी, गंगा राई, कृष्णराजा श्रेष्ठ लगायतले टुहुरेले गाएका गीत प्रस्तुत गर्नेछन् ।

तपाईंको प्रतिक्रिया

थप खबर