दुर्घटनाग्रस्त यतिको विमानमा ८ विदेशी र ६० नेपाली नागरिक, १६ जनाको शव भेटियो !

  माघ ०१, २०७९

मिडियाबाजी डटकम काठमाडौं,माघ १ ।  पोखरामा आज विहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज विहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिएको जानकारी दिए ।

“मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ”, उनले भने, “विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ ।” विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए । प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रभावकारी उद्दारमा लाग्न गृहमन्त्रालय, सुरक्षाकर्मी, सरकारका सम्पूर्ण निकायलाई निर्देशनसमेत दिएका छन् । अहिलेसम्म १६ जना शव भेटिएको यती एयलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । एटीआर ७२ विमान आज विहान दुर्घटना भएको थियो । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित उडेको उक्त जहाज बिहान ११ बजेर १० मिनेटमा पोखरा उपत्यकाको सेती नदी खोँचमा खसेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर