तीन महिना बितिसक्दापनि विकास खर्च पाँच प्रतिशत मात्रै

  कार्तिक ०१, २०७९

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १। चालु आर्थिक वर्ष २०७९/८० को तीन महिनामा लक्ष्यको ५.१७ प्रतिशत मात्र विकास खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन १ गतेदेखि असोज ३१ गतेसम्म जम्मा ५.१७ प्रतिशत विकास खर्च भएको छ ।

तीन महिनाको अवधिमा तीन खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको भए पनि साउन, भदौ र असोजमा १९ अर्ब ६८ करोड ११ लाख रुपैयाँ मात्र खर्च भएको हो । गत आर्थिक वर्षमा मा तीन खर्ब ७८ अर्ब नौ करोड रुपैयाँ विकास खर्च गर्ने लक्ष्य राखिएकोमा असोज ३१ गतेसम्म १४ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ मात्र विकास खर्च भएको थियो ।

गत आर्थिक वर्षको तीन महिनामा भएको विकास खर्चको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा भने विकास खर्च बढेको देखिन्छ । गत आवको तीन महिनामा लक्ष्यको करिब चार प्रतिशत मात्रै विकास खर्च भएको थियो ।चालु आर्थिक वर्षको तीन महिनामा राजस्व संकलनभन्दा बढी चालु खर्च भएको छ । साउन, भदौ र असोजमा दुई खर्ब आठ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन भएको छ भने दुई खर्ब २३ अर्ब ७५ करोड रुपैयाँ चालु खर्च भएको छ । उक्त राजस्व संकलन चालु आर्थिक वर्षमा राखिएको लक्ष्यको १४.८७ प्रतिशत हो भने चालु खर्च लक्ष्यको १८.९१ प्रतिशत हो ।

चालु आर्थिक वर्षमा १४ खर्ब तीन अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ भने ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ चालु खर्च गरिने लक्ष्य राखिएको छ । चालु आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर