मिडियाबाजी डटकम काठमाडौं भाद्र १६। विशेषगरी लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगुको प्रकोप बढ्दै गईरहेको छ यसकै प्रकोपको संक्रमणबाट कैलालीमा एक युवतीको मृत्यु भएको छ । उपचारका क्रममा ३५ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए ।उनका अनुसार धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया महिलाको निसर्ग अस्पतालमा गत मंगलबार उपचारका क्रममा मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय कैलालीले टेलिफोन मार्फत डेंगुबाट मृत्यु भएको जानकारी दिए पनि औपचारिक रूपमा विवरण आइनसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रणको महाशाखाका एक उच्च अधिकारीले बताए । महाशाखाका अनुसार गत पुसदेखि हालसम्म २ हजार ८२७ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभर ७२ जिल्लामा डेंगुका बिरामी फेला परेका छन् । सबैभन्दा बढी ललितपुरमा एक हजारभन्दा बढीलाई संक्रमण भएको छ । त्यसैगरी, काठमाडौं, रूपन्देही, धादिङ लगायतका जिल्लामा डेंगुको प्रकोप बढ्दो क्रममा छ ।