मिडियाबाजी डटकम काठमाडौं। सामाजिक सञ्जाल ट्विटरको नीलो टिकसहित प्रमाणित् अर्थात् ‘भेरिफाइड’ अकाउन्ट चलाउनेले अब मासिक आठ डलर तिर्नुपर्ने भएको छ ।
ट्विटरका नयाँ मालिक एलन मस्कले नीलो टिकसहितको प्रमाणित अकाउन्ट हुने र अबका दिनमा निलो टिक पाउनेले मासिक ८ डलरको शुल्क लगाउने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । गएको हप्ता मात्रै ट्विटरको पूर्ण स्वामित्व लिएका मस्कले नक्कली अकाउन्टहरु नियन्त्रण गर्नका लागि यो कदम आवश्यक रहेको तर्क गर्नुभएको छ ।
शुल्क तिर्ने प्रयोगकर्तालाई सेवामा पनि प्राथमिकता हुने उहाँको भनाइ छ । मुख्य गरी शीर्ष नेताहरु, कलाकार, ब्यापारी, पत्रकारलगायतले एउटा संक्षिप्त अनलाइन फारम भरेर केही प्रक्रिया पूरा गरी नामको पछाडि नीलो टिकसहितको अकाउन्ट प्रयोग गर्दै आएका छन् । अहिलेसम्म यो सेवा निःशुल्क थियो ।
ट्विटरले विज्ञापनमा निर्भरता कम गर्न चाहेको पनि मस्कको दाबी छ । तर मासिक शुल्क उठाउने प्रकृया सहज र व्यावहारिक नभएको भन्दै यो कदमको आलोचना समेत भैरहेको छ । यसैबीच, केही प्रमुख ब्रान्डहरूले ट्विटरमा अब हुन सक्ने परिवर्तन र विज्ञापन प्लेटफर्मलाई ध्यानमा राखेर अस्थायी रुपमा विज्ञापन रोक लगाएका छन् ।